२२ बैशाख २०८१, शनिबार

ओली र नेपाल समूहको वार्ता : जेठ २ कै आसपासमा फर्कन ओली सहमत


ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा भएको वार्ता सकिएको छ ।

आज सिंहदरबारमा करिब पौने ३ घण्टा भएको दुई समूहको बैठकमा अध्यक्ष ओली पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएसंगै आजको वार्ता सकारात्मक ढंगले टुंगिएको छ । नेपाल समूहले २०७५ जेठ २ गतेकै आसपासमा सहमति गर्नुपर्ने अडान दोहोर्याएको थियो ।

तसर्थ जेठ २ को अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेकोले सहमति हुने बैठकमा सहभागी नेपाल समूहका नेता भीम रावलले बताए । उनका अनुसार पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको बताए ।

२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउनेमा अध्यक्ष केपी ओली तयार भएको उनले बताए । अव सहमतिमा पुग्न लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएकोले पुन: चाडैं बसेर वार्ता निर्णायक वार्ता हुने भएको छ ।

पार्टीको आन्तरिक विवाद मिलाउन ओली-नेपालबाहेक ओली समूहका नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् भने नेपाल समूहका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी भएका थिए ।

हिजो बिहीबार दिउँसो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको निवासमा ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता भएको हो ।

ओली-नेपालबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएकोले त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता भएको हो ।

ओलीसँग सिंहदरवार वार्तामा बस्नुअगाडि नेता नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुसँग बसेको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए । आज भएको वार्ताले माओवादी केन्द्रबाट आएका नेताहरुको जिम्मेवारी लगायतका विषयमा गृहकार्य गर्न एमालेमा कार्यदल बनाउने लगायतबारे छलफल भएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !