१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए ।

विश्वासको मत लिने मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा गएको ती मन्त्रीले बताए । बैठकमा सहभागी ती मन्त्रीले दिएको जानकारी अनुसार सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् । ती मन्त्रीका अनुसार वैशाख २७ गते संसद् अधिवेशन बोलाउने तयारी गरिएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयको जानकारी आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पनि दिएका थिए । प्रधानमन्त्री ओलीले आज आइतबार बिहान एमालेको स्थायी समिति बैठकपछि पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !