१२ बैशाख २०८१, बुधबार

ओलीलाई फ्लोर क्रसको त्रास : खनाल-नेपालसहित यी सांसदलाई पदमुक्त गर्ने तयारी


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका ५ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ । उनका अनुसार २ दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्था विपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।

प्रधानमन्त्री ओलीले खनाल-नेपाल समूहका सांसदहरुको सूची बनाएर कारबाही गर्ने तयारी गरेका हुन् । उनीहरु ओलीविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्न सक्नेहरु मानिएको छ । सांसद पदबाट नै मुक्त गर्ने सूचीमा प्रत्यक्ष निर्वाचित २७ जना सङ्घीय सांसद रहेका छन् ।

उनीहरु माधव नेपालको निर्देशन मान्ने खालका नेताहरु रहेको भन्दै कारबाही गर्न लागिएको हो । प्रतिनिधि सभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्ने संकेत पाएपछि ओलीले पार्टीभित्रै कारबाहीको डण्डा चलाउन लागेका हुन् । फ्लोर क्रस गर्न सक्नेहरुलाई पदमुक्त गरेर ओलीले सत्ता सुरक्षित गर्दै चुनावमा जाने रणनीति बनाएको बुझिएको छ ।

यी हुन् कारबाहीको तयारीसहित सूचीमा राखिएका सांसदहरु

सङ्घीय सांसदहरु

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. घनश्याम भुसाल
६. योगेश भट्टराई
७. सोमप्रसाद पाण्डे
८. विरोध खतिवडा
९. यज्ञराज सुनुवार
१०. दिपकप्रकाश भट्ट
११. कृष्णलाल महर्जन
१२. मुकुन्द न्यौपाने
१३. रामकुमारी झाँक्री
१४. पवित्रा निरौला
१५. झपट रावल
१६. मेटमणि चौधरी
१७. जीवनराम श्रेष्ठ
१८. भवानी खापुङ
१९. नारायण खतिवडा
२०. जयकुमार राई
२१. गणेश पहाडी
२२. हिराचन्द्र केसी
२३. पुष्पाकुमारी कर्ण कायस्थ
२४. कल्याणी खड्का
२५. लक्ष्मीकुमारी चौधरी
२६. सरलाकुमारी यादव
२७. नीरादेवी जैरु

कर्णाली प्रदेशका सांसदहरु

१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली

यो पनि पढ्नुहोस्

ओलीले स्पष्टीकरण सोधेपछि खनाल-नेपाल समूहले बोलायो संसदहरुको आकस्मिक बैठक

एमालेका माधव नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !