१८ बैशाख २०८१, मंगलबार

प्रदेश ६ मा ७ सदस्यीय मन्त्रिमण्डलको गठन, नरेश भण्डारीलाई गृह, प्रकाश ज्वाला अर्थ मन्त्री


pradesh nambar 6

६ फागुन, सुर्खेत । प्रदेश नम्बर ६ मा ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेश सरकारले पूर्णता पाएको हो । एमाले र माओवादीले मन्त्रीहरुको टुंगो लगाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ जना मन्त्रीलाई सिफारिस गरेका छन् । अहिले मन्त्रीहरुको शपथ खुवाउने कार्यक्रम पनि रहेको छ ।

आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीको जिम्मेवारी माओवादीवाट निर्वाचित जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् । भण्डारी मुख्यमन्त्रीका दावेदार थिए । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्रीको जिम्मेवारी सल्यानवाट निर्वाचित एमालेका प्रकाश ज्वालाले पाएका छन् । यो मन्त्रालय माओवादीका भण्डारीले दावी गर्दै आएका थिए ।

यस्तै सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनीहरु सबै एमालेवाट निर्वाचित सांसद हुन् । रुकुमवाट समानुपातिक सांसद बनेकी विमला केसीले माओवादीका तर्फबाट भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । विमला बाहेक अरु सबै मन्त्रीहरु प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !