२२ बैशाख २०८१, शनिबार

खनाल-नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै, के गर्ला निर्णय ?


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । आज बस्ने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४ नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेपछि भावी रणनीति बनाउन बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकपछि सो समूहले अब के गर्ने भन्नेबारे ठोस रणनीति तय हुने बताइएको छ । देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने भएको हो ।

एमालेले साबिकका पदाधिकारी र स्थायी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति बनाइसकेको छ । तर माधव नेपाल पक्षले त्यसलाई अस्वीकार गरिसकेको छ । खनाल-नेपाल समूहमा तत्कालीन एमाले स्थायी कमिटीका ११ जना सदस्य रहेका छन् ।

झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने सहितको बैठक बस्न लागेको हो । बैठकमा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि सहभागी हुनेछन् ।

खनाल-नेपाल समूहले हिजो विहीवार मात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिवार उदयपुरमा घोषणा हुने नेता बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !