७ मंसिर २०८१, शुक्रबार

माधव नेपाल र भीम रावलको स्पष्टीकरण कारबाहीयोग्य छ : अध्यक्ष ओली


नेकपा एमाले संसदीय दलको बैठक बालुवाटार

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधव नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत गरेका छन् । नेपाल र रावललाई सोधेको स्पष्टीकरण प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती स्पष्टीकरण कारवाहीयोग्य भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा राखेको संसदीय दलको बैठकमा यसबारे जानकारी गराएका हुन् । एमाले सचेतक विशाल भट्टराईका अनुसार नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

बैठकमा ओलीले भनेका कुरा उद्धृत गर्दै भट्टराईले भने, ‘तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण आएको छ। अरू दुई जना नेताको स्पष्टीकरण आउन बाँकी छ । नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्य रहेको प्रधानमन्त्रीको भनाइ छ । यसबारे केन्द्रीय कमिटीबाटै थप निर्णय लिन्छौं भनेर उहाँले भन्नुभएको छ ।’

नेपाल र रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले एमाले विभाजनका रेखा र आशंका यसअघि देखिएकोमा आजदेखि अन्त्य भएको र पार्टी एकढिक्का भएको भट्टराईले दाबी गरेका छन् ।

ओलीले नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकरात्मक रहेको संसदीय दलको बैठकमा बताएका थिए । ‘प्रधानमन्त्रीले भनेको शब्द यही हो । प्राप्त भएका स्पष्टीकरण नकरात्मक र कारवाहीको भागीदार छ । बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ उनले भने ।

नेपाल र रावलले बिहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका थिए । तर सुरेन्द्र पाण्डे र घनश्याम भुषालले भने स्पष्टीकरणको जवाफ दिएका छैनन् । नेकपा एमाले केन्द्रीय समिति बैठकले पार्टी अनुशासन उल्लंघन तथा गुटबन्दी गरेको भन्दै नेता नेपालसहित रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले फागुन २८ मा गरिएका निर्णय फिर्ता नहुने पनि बताएका छन् । आज संसदीय दलको बैठकमा माधव नेपाल र भीम रावल बाहेक झलनाथ खनाल-नेपाल समूहका अधिकांश सांसद उपस्थित थिए । खनाल आफैँ संसदीय दलको बैठकमा उपस्थित भएर सर्वोच्चले एमाले ब्युँताएकै अवस्थाबाट पार्टी अगाडि बढ्नुपर्ने तथा एकलौटी भएका निर्णय फिर्ता लिनुपर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

बैठक नसकिदै बाहिरिए खनाल : पार्टी एकता जोगाउन जेठ २ मा फर्किन ओलीलाई आग्रह

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक शुरु, खनाल र वामदेव पनि सहभागी

खनाल-नेपाल समूहको निर्णय : पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने

खनालको नेतृत्वमा संसदीय दलको बैठकमा जाने, तर नेपाल र रावल नजाने

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह पनि सहभागी हुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !