१२ बैशाख २०८१, बुधबार

खनाल-नेपाल समूहको निर्णय : पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने


ओली, खनाल र नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता झलनाथ खनाल र माधव नेपाल समूहका केन्द्रीय सदस्यहरू र सांसदहरूको आज बसेको बैठकले पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने निर्णय गरेको छ ।

आज काठमाडौँको कलंकीस्थित मेगा पार्टी प्यालेसमा भएको बैठकले सो निर्णय गरेको हो । नेता रघुजी पन्तका अनुसार पार्टीलाई विधि, पद्धति अनुसार चलाउन समेत आग्रह गरिएको छ ।

आज भएको सो बैठकमा ६० जना जति केन्द्रीय सदस्यको वैठकमा सहभागी भएको ती नताले दावी गरे । पार्टीभित्रै बसेर विधि र पद्दतिका लागि लड्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त समूहका चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको हो ।

नेपाल समूहले २ जेठ २०७५ मा कायम रहेको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग समेत गरेको छ । तर पार्टी अध्यक्ष ओली पार्टीको विधान अनुसार अगाडि बढ्छन् भन्ने नलागेको नेताहरुले बताएका छन् ।

अध्यक्ष ओली पेलेर अगाडि बढ्न खोजे चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय अनुसार शक्ति निर्माण गरेर अगाडि बढ्ने खनाल-नेपाल समूहले निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह ३ बजे बालुवाटारमा संसदीय दलको बैठक राखेका छन् । उक्त बैठकमा सहभागी हुने निर्णय समेत गरिएको पन्तले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सांसदहरु आजको बैठकमा सहभागी हुने भएका हुन् । यस्तै बैठकमा सहभागी भएर नोट अफ डिसेन्ट राखेर फर्कने नेता सुरेन्द्र पाण्डेले बताए ।

संसदीय दलको बैठकमा खनाल-नेपाल समूहले झलनाथ खनालले बोल्नका समय माग्ने, समय दिए आफ्ना कुरा राख्ने र त्यहाँ गएका सांसदहरु हस्ताक्षर गरेर फर्कने तयारी गरिएको छ ।

तर एमालेको उक्त समूहका वरिष्ठ नेता माधव नेपाल र नेता भीम रावल भने बालुवाटार नजाने भएका छन् । नेकपा एमालेभित्र पछिल्लो समय विवाद छ । फागुन २८ मा ओलीले एकलौटी निर्णय गरेको भन्दै खनाल र नेपाल पक्षले उक्त निर्णय फिर्ता लिन माग गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

खनालको नेतृत्वमा संसदीय दलको बैठकमा जाने, तर नेपाल र रावल नजाने

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह पनि सहभागी हुने

ओलीले बोलाएको एमाले संसदीय दलको बैठक बस्दै

ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)

ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? ​(पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !