२२ बैशाख २०८१, शनिबार

ओलीलाई प्रचण्डको आरोप : ओलीका कारण राष्ट्रिय स्वाधिनता कमजोर भयो


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको राष्ट्रिय स्वाधिनता कमजोर भएको आरोप लगाएका छन् ।

आज बुधबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको धुलिखेलमा राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपालको निर्णय गर्ने अधिकार विदेशीले खोस्न खोजेको पनि बताए ।

प्रधानमन्त्री ओलीलाई विदेशी शक्ति र देशकै प्रतिगामी शक्तिले प्रयोग गरेको आरोप लगाउदै उनले संसद पुनर्स्थापना भएपनि अझै खतरा रहेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्री ओली परिवर्तन नचाहने शक्तिहरूको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउदै २०६२/०६३ पछिको परिवर्तनलाई नरुचाएको शक्तिले ओलीलाई प्रयोग गरेको बताए ।

प्रचण्डले २०६२/०६३ को जनआन्दोलन पछिको परिवर्तनलाई ओलीले नरुचाएको भन्दै विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको बताएका छन् ।

उनले लामो संघर्ष र नेपालीको बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै समावेशी, संघीयता, धर्मनिरपेक्षता यसको मौलिक पक्ष रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै कारण मुलुकको राष्ट्रिय स्वाधिनता बलियो भएको दावी गरिरहेका बेला केही दिनयता प्रचण्डले ओलीमाथि विदेशीको योजनामा चलेको आरोप लगाइरहेका छन् ।

उनले संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्दै आएको बताए । परिणामस्वरुप संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भइरहेको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !