२२ बैशाख २०८१, शनिबार

प्रचण्ड भन्छन्, ‘ओली परिवर्तन नचाहनेहरुको दलाल र मोहरा बने’


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली परिवर्तन नचाहने शक्तिहरूको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाएका छन् । आज बुधबार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको धुलिखेलमा राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६२/०६३ पछिको परिवर्तनलाई नरुचाएको शक्तिले ओलीलाई प्रयोग गरेको बताए ।

प्रचण्डले २०६२/०६३ को जनआन्दोलन पछिको परिवर्तनलाई ओलीले नरुचाएको भन्दै विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको बताएका छन् । उनले लामो संघर्ष र नेपालीको बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै समावेशी, संघीयता, धर्मनिरपेक्षता यसको मौलिक पक्ष रहेको बताएका छन् ।

उनले भने, ‘संविधान जारी भयो, चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत पनि ल्याइयो । जो पहिलादेखि षडयन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए ।’ अहिले परिणामस्वरुप संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास ओलीबाट भइरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटबारे फैसला गर्दै संवैधानिक इजलासले वर्तमान सरकारलाई संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको मानेको तर अर्को एक मुद्दामा त्यही अदालतको दुईजना न्यायाधीशको इजलासले यो सरकार धारा ७६ को उपधारा २ अन्तर्गतको बनाइदिएको भन्दै प्रचण्डले भने, ‘तर, हामी गम्भीर छौँ, हामी सतर्क पनि छौँ ।’

उनले संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्दै आएको बताए । परिणामस्वरुप संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भइरहेको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !