काठमाडौं । समसामयिक राजनीतिक अवस्था वा सामाजिक कुरीतिको विषयमा पहिला संविधानसभाको सदस्य हुँदा होस् वा अहिले राष्ट्रियसभाको संसद हुँदा होस्, रामनारायण बिडारीले आफ्नो धारणा पृथक रुपमा मौलिक ढंगले राख्ने गरेर सामाजिक संजालमा ट्रोल र भाइरल हुने गर्छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट तिनै रामनारायण बिडारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य पदमुक्त गरेर उनको ठाउँमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ तयारी गरेका छन् । त्यसैले गर्दा रामनारायण बिडारी संसद पद च्वाट हुने संकेत देखिएको छ ।
प्रचण्डनिकट बिडारीलाई उनकै प्रस्तावमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ७ गते कानुन विज्ञका रूपमा राष्ट्रियसभामा मनोनीत गरेकी थिइन् । सरकारकै सिफारिसमा नियुक्त भएकाले सरकारले फिर्ता गर्ने सिफारिस गर्ने बित्तिकै राष्ट्रपतिले बिडारीलाई पदमुक्त गर्न सक्ने भन्दै ओलीले बादललाई विश्वस्त बनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ । आज शनिबार पेरिस डाँडामा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिएको हो । यस्तै बैठकले हिजो एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ।
माओवादी केन्द्रले बादल सहितका नेतालाई सांसदबाट हटाएको एक-दुई दिनभित्रै बिडारीलाई हटाउने निर्णय गरिहाल्ने तयारी बालुवाटारको तयारी रहेको छ । बादललाई संसद्मा ल्याउन बिडारीलाई हटाउने अन्तिम तयारी भइरहेको बालुवाटार उच्च स्रोतले दावी छ ।
ओलीले आफूलाई अप्ठेरो परेको बेला संसद पद समेत जोखिममा राखेर काँध थापेको भन्दै एमाले उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य बनाउने तयारी गरेपछि बादलले पूर्वमाओवादीमा नफर्कने निर्णयमा पुगेका हुन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी एकीकरण खारेज गर्दै दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव नेपाल समूह एमाले मै रहने निर्णयमा पुग्यो । तर, नेकपा विवादमा ओली कित्तामा उभिएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत एमालेमै रहने भएका छन् ।
दल त्याग सम्बन्धी व्यवस्था अनुसार उनीहरू माओवादीमा नफर्किए पार्टीको सिफारिसमा सांसद पद जान्छ । यदि माओवादीले बादलसहित नेतालाई सांसदबाट हटाए ओलीले बादललाई राष्ट्रियसभामा लैजाने बचन दिइसकेका छन् ।