७ बैशाख २०८१, शुक्रबार

के प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट भएको हो त ?

प्रधानमन्त्री ओलीलाई कस्तो सुरक्षा थ्रेट हुनसक्छ ?


के प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट भएको हो त ?

पृष्ठभूमि : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने सुरक्षा खतरा (थ्रेट) रहेको संकेत गरेका छन् । ओलीले आफू मारिन सक्ने खतरा रहेको खुलासा गरेका हुन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा हिजो पोखरामा सम्बोधन गर्दै ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन् । ओलीले पार्टी तथा देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्ने समेत बताएका छन् । उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे । तर आफूलाई कहाँवाट त्यस्तो सुरक्षा खतरा भएको भनेर उनले खुलाएनन् ।

अब प्रश्न उठ्छ यतिका सुरक्षा घेरा लिएर हिँडेका प्रधानमन्त्रीलाई आखिर केको सुरक्षा थ्रेट ? ज्यानै तलमाथि हुने गरी कसले हमला गर्ला ? अनि कस्तो किसिमको हमला भन्न खोजेको हो ? कार्यक्रममा सहभागी हुँदा भिडमा रहेका विरोधीले नै जुत्ता वा अन्य प्रहार गर्छन् भन्न खोजिएको हो ? वा कुनै सांघतिक हमला नै हो ? सयौ सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ छ भन्नु प्रोपोगाण्डा कि वास्तविकता ?

प्रधानमन्त्रीले औपचारिक रुपमा नै सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिइसकेपछि सुरक्षा निकाय के हेरेर बसेको छ त ? के प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट भएको हो त ? प्रधानमन्त्री ओलीलाई कस्तो सुरक्षा थ्रेट हुनसक्छ ? आउनुहोस् यस वारेमा सविस्तार चर्चा गरौ ।

आफूलाई सुरक्षा खतरावारे यसो भने ओलीले हिजो पोखरामा

‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइरहेको हुनाले, सरकार ठिक ढङ्गले चलाइरहेको हुनाले, सरकार गतिशील र प्रभावकारी रुपमा चलिरहेको हुनाले, विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले म माथि प्रहार गरियो । सम्पूर्ण रुपमा म माथि अत्यन्तै तीव्र गतिले प्रहार गरियो,’ ओलीले भने ।

उनले आफूमाथि कुनै प्रकारको शारीरिक हमला नै भएपनि अनौठो नमान्न समेत बताए । ‘यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यानमाथि तलमाथि भइहाल्यो भनेपनि तपाईंहरु अनौठो नमान्नुहोला । तर, त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउछौं,’ उनले भने,‘म रहिन्न भनेपनि केही छैन । आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन । पार्टीको भविष्य अन्धकार हुन दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन नेता कार्यकर्तालाई आग्रह गरे । उनले प्रचण्ड-नेपाल समूहतिर लक्षित गर्दै आफूहरु अहिले अपराधिक तत्वसँग लडिरहेको समेत बताए । पार्टी र आन्दोलन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफुले छाडे मुलुक खाडलमा जाने दाबी पनि गरे ।

मदन भण्डारीको ६९ औं जन्मजयन्तीमा प्रधानमन्त्रीद्वारा आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति 

प्रधानमन्त्री ओलीले २०७७ साल असार १४ गते मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी विदेशी शक्ति हावी भएको बताएका थिए । त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएका थिए ।

सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रेट महसुस गरी योजना बनाएका थिए । जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको थियो । राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको थियो ।

प्रधानमन्त्रीको सुरक्षार्थ खटिने निकायहरू सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूबीच गत साता समन्वयात्मक बैठक बसेको थियो । प्रधानमन्त्रीलाई हुन सक्ने आन्तरिक एवं बाह्य सुरक्षा थ्रेटको सूक्ष्म विश्लेषण गरी त्यसअनुसार सुरक्षाकर्मी परिचालनको निर्णय भएको थियो ।

सम्भावित चुनौती विश्लेषण गरी सुरक्षाकर्मीलाई उच्च सतर्क रहन निर्देशन दिइएको थियो । प्रधानमन्त्री निवासमा खटिने सुरक्षाकर्मीलाई २४ सै घण्टा सतर्क रहन भनिएको थियो ।

विगतमा प्रधानमन्त्री ओलीलाई पार्टी कार्यालयमा सुरक्षा खतरा !

विगतमा २०७७ साल मंसीर १६ गते मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको थियो । प्रधानमन्त्री ओलीले पार्टी कार्यालयमा आफुलाई सुरक्षा खतरा रहेको बताएपछि वैठक बालुवाटार सारिएको थियो । ओलीले आफुलाई पार्टी कार्यालय सुरक्षाका कारण जोखिम रहेको जानकारी सुरक्षा निकायले दिएको भन्दै पार्टी केन्द्रीय कार्यालय जान अस्वीकार गरेका थिए ।

पार्टी कार्यालयमा सुरक्षा खतरा रहेकाले बैठक बालुवाटारमा सार्न ओलीले महासचिव विष्णु पौडेल मार्फत नेताहरुलाई जानकारी पठाएका थिए । महासचिवले दिएको यस्तो जानकारी पछि बैठक बालुवाटारमा दिउसो १ वजेका लागि सारिएको थियो ।

सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना प्रधानमन्त्री ओलीलाई दिएको महासचिव पौडेलले अन्य नेताहरुलाई जानकारी दिएको एक नेताले बताएका थिए । मंसिर १३ गते बालुवाटारमा भएको सचिवालय बैठकले मंगलबार धुम्बाराहीमा बैठक राख्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले उब्जाएको त्रास

पछिल्लो समय नेपाली राजनीतक घटनाक्रम अनुसार नयाँ सरकार गठनको बारेमा अन्य दलहरूवीच छलफल चलिरहेको परिप्रेक्षमा र सत्ता संघर्ष चर्कदै जाँदा प्रधानमन्त्री ओलीले आफैमाथि सुरक्षा खतरा रहेको बताएपछि यसले राजनीतिक तरंग ल्याउनुको साथै सर्वसाधारणमा त्रास समेत पैदा भएको छ ।

प्रधानमन्त्रीले नै आफ्नो सुरक्षामा शंका गरेपछि अरुको सुरक्षा के होला भन्ने चिन्ताको विषय हो । सिंगो देशलाई शान्ति सुरक्षा दिने काम मन्त्रिपरिषदको हो । अब प्रधानमन्त्रीजीले आफैमाथि सुरक्षा थ्रेट छ भनेपछि अरु सत्ता पक्षका नेताहरु, प्रतिपक्ष नेताहरु, नागरिक समाजका मानिसहरुको सुरक्षा झन् खतरामा परेको सन्देश गएको छ ।

प्रधानमन्त्रीको पदमा रहेका ओलीले ज्यानको खतरा नै छ भन्नु गम्भीर विषय हो । प्रधानमन्त्री जस्तो व्यक्तिको समेत ज्यान खतरामा हुनुले सर्वसाधारण जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने बारेमा सुरक्षा निकायलाई प्रश्नचिन्ह खडा भएको छ ।

कस्तो छ प्रधानमन्त्रीको सुरक्षा व्यवस्था ?

अहिले प्रधानमन्त्री ओलीलाई चारवटा सुरक्षा निकायको घेराबाट सुरक्षा रहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट ओलीलाई सुरक्षा घेरा रहेको छ । ओलीको सुरक्षामा सेनाका अधिकृत २४ घण्टा खटिएका हुन्छन् ।

प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब १ सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ ।

यस्तै नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा १ सय भन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षा सम्बन्धी नेतृत्व गर्दछ । प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियार समेत हुने भएकाले सुरक्षा दायरा एकदम बलियो हुन्छ ।

यस्तै प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलको टोली पनि परिचालित हुन्छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन् । साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीको सुरक्षाका निम्ति परिचालित हुन्छन् । समग्रमा प्रधानमन्त्रीको सुरक्षामा करिब ३ सय सुरक्षाकर्मी खटिएका हुन्छन् ।

प्रधानमन्त्रीको सवारीको अग्रभागमा प्रहरीको मोटरसाइकलले स्कर्टिङ गर्दछ । त्यसपछि नेपाली सेनाको गाडी हुन्छ । सेनाको गाडी पछाडी प्रहरीको गाडी हुन्छ । त्यसपछि मात्र प्रधानमन्त्रीको गाडी हुन्छ । प्रधानमन्त्रीको गाडीभन्दा पछाडि प्रहरीको गाडी हुन्छ । पुछारमा सशस्त्र प्रहरीको एउटा गाडी हुन्छ ।

प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सम्बोधन गरिरहँदा उनको पछाडि उभिएका सुरक्षाकर्मीले ब्रीफकेस बोकेर उभिरहेका हुन्छन् । ओलीको दायाँबायाँ र पछाडि तीन सुरक्षाकर्मीले हातमा ब्रीफकेस झुन्डाएर उभिएर बसेको देख्न सकिन्छ । प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेनाका तालिम प्राप्त सुरक्षाकर्मीहरूले तीनवटा ब्रीफकेस बोकेर उभिरहेका हुन्छन् ।

सुरक्षा मामिलाका जानकारहरूका अनुसार अलि मोटो देखिने ब्रीफकेसमा सबमशीनगन हुन्छ भने अलि पातला दुईवटा ब्रीफकेसमा प्रोटेक्टिभ शील्ड भनिने सुरक्षाकवच हुन्छ । मोटो ब्रीफकेसमा भित्र राखिएको अत्याधुनिक हतियारबाट गोली निस्किने प्वाल पनि देखिन्छ । पातलो ब्रीफकेसमा भने दुईदेखि तीन पत्रसम्म पट्याएर गोली छेक्ने पाताहरू राखिएका हुन्छन् ।

विशिष्ट व्यक्तिहरूमाथि कुनै आक्रमण भएको अवस्थामा अङ्गरक्षकहरूले यस्तो ब्रीफकेसलाई तुरुन्तै सुरक्षा ढालको रूपमा प्रयोग गर्न सक्छन् । एक सुरक्षा अधिकारीका अनुसार जोडले झड्कार्ने वा तान्नेबित्तिकै सुटकेसभित्र पट्टिएर बसेका पाताबाट गोली र अन्य प्रहार रोक्न सकिने बताए ।

निष्कर्ष

प्रधानमन्त्री ओली स्वयंले आफैंमाथि सुरक्षा थ्रेट छ, खतरा छ भनेर विचारात्मक अभिव्यक्ति दिनुले झन् असुरक्षाको सन्देश जानुका साथै यसले सिङ्गो राज्यलाई नै कमजोर पारी नागारिकमा त्रास उत्पन्न भएको छ । तर प्रधानमन्त्री ओली राजनीतिक रुपमा कम्जोर भएर रक्षात्मक हुँदै गएपछि सहानुभूतिका लागि पनि यस प्रकारको विषय उठाएको हुन सक्ने एक तरिकावाट विश्लेषण गर्न सकिन्छ ।

हालको समयमा प्रधानमन्त्री ओलीलाई भौतिक चुनौतीको सम्भावना नरहेतापनि प्रतिनिधिसभा विघटनको प्रयास असफल भएपछि प्रचण्ड-नेपाल समूह वा अन्य पार्टीका कार्यकर्ताबाट कालो झण्डा देखाउने, चप्पल हान्ने जस्ता सामान्य खाले चुनौती रहेकोले उनले यसलाई बढाई-चढाई गरेको हुनसक्ने अर्को तरिकावाट विश्लेषण गर्न सकिन्छ ।

यहि देश हो जहाँ कोत पर्व र भण्डारखाल पर्व गराएर कैयौको हत्या गरिएको थियो । साथै दरवार हत्याकाण्ड भएर राजा वीरेन्द्रको बंशनाश भएको थियो भने दासढुंगामा जिप दुर्घटना गराएर जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको हत्या गरिएको थियो ।

त्यसैले गर्दा तेस्रो तरिकावाट विश्लेषण गर्दा यस्तो घटना पनि नदोर्होरिएला नभन्न सकिदैन । समयमा नै राजधानीको साथै देशको सुरक्षा व्यवस्था कडा गर्न जरुरी छ । बेलैमा संचेत भएर सुरक्षा निकायले बुद्धि पुर्याउनु जरुरी छ किनकी लगनपछि पोतेको के काम ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै विशेष सुरक्षा हुन्छ । बालुवाटारबाहिर निस्कँदा सेना, प्रहरी लगायतको सुरक्षा निकायको अगुवा पछुवा हुन्छन् । यसरी चार घेराको सुरक्षा रहेका प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको विषय उठाउनु गम्भीर विषय हो ।

प्रधानमन्त्री जस्तो देशको कार्यकारी पदमा आसिन व्यक्तित्वले आफूमाथि सुरक्षा खतरा रहेको संकेत गर्नु बिडम्वनाको कुरा हो । गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको यस विषयमा गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

आफू मारिन सक्ने खतरा रहेको प्रधानमन्त्री ओलीले गरे संकेत

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !