१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली किन अचानक गए सर्वोच्च अदालत ?

प्रधानमन्त्री ओली अचानक गए सर्वोच्च अदालत


प्रधानमन्त्री ओली सर्वोच्चमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सर्वोच्च अदालतमा अचानक पुगेका छन् । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री सर्वोच्च अदालतमा यसरी उपस्थित हुने घटना नेपालमा बिरलै मात्र हुने गरेका छन् ।

प्रधानमन्त्री ओली किन अचानक सर्वोच्च अदालत पुगे ? भन्ने चासो आम नागरिकलाई बढ्नु स्वाभाविक हो । अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेश अनुसार ओली आफै लिखित जबाफ बोकेर आज बिहान पौने १२ बजेतिर सर्वोच्च अदालत पुगेका थिए । उनले आफ्नो जबाफ पेश गरी बालुवाटार फर्कि सकेका छन् ।

प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका थिए । प्रधानमन्त्री ओली सर्वोच्च अदालत परिसरमा पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने पत्रकारलाई समेत अदालतभित्र जान दिइएको थिएन ।

गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको थियो । माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको इजलासले ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनलाई पनि लिखित जवाफसहित आफैं उपस्थित हुन भन्ने आदेश न्यायाधीश शर्माको इजलासले दिएको थियो ।

अवहेलना मुद्दा लगाइएका ४ पूर्वप्रधानन्यायाधीशले भने अदालतमै म्याद बुझेर सोमबार लिखित जवाफ दिएका छन् । न्यायाधीश शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा पनि आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !