१२ बैशाख २०८१, बुधबार

मेरो नेतृत्वको नेकपा नै आधिकारिक हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली भन्छन्, 'मैलै सूर्य चिह्न बाहेक अरुबाट चुनाव नलडेकोले प्रचण्डलाई दिन्न'


प्रधानमन्त्री ओली निर्वाचन आयोगमा छलफलमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका छन् । साथै ओलीले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको प्रचण्डलाई सूर्य चिह्न नदिने दावी गरे ।

निर्वाचनको तयारीका विषयमा छलफल गर्न विहान ११ः५५ बजे निर्वाचन आयोगको पुगेका ओली भन्दा अघि नै उनको नेतृत्वको नेकपाका नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, लीलानाथ श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका थिए ।

प्रधानमन्त्री ओली निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगको कार्यालय पुगेको भन्ने शुरुमा भनिएपनि नेकपाको आधिकारिकताको विषयमा पनि गहन छलफल भएको बुझिएको छ । गत माघ १६ गते नेकपाका दुवै समूहलाई आयोगले बोलाएको थियो ।

आयोगले बोलाएपछि प्रचण्ड-नेपाल समूह आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए तर ओली भने गएका थिएनन् । नेकपाका दुवै समूहका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएपनि आयोगले दुवै समूहको दाबी नपुगेको भन्दै आएको छ ।

आज निर्वाचन आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन जसरी पनि सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेका हुन् । आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले आग्रह गरे ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । हिजोको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएका थिए भने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पनि निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउने बताएको उनले जानकारी दिएका थिए ।

निर्वाचनको तयारीका विषयमा छलफल गर्दै आयोगको तयारीलाई प्रधानमन्त्रीले धन्यवाद समेत दिएका छन् । तर यसअघि नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई आयोगको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुले आयोगको तयारी सुरक्षा, बजेट लगायतका विषयमा जानकारी गराएका थिए ।

ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गर्दै विगतको आफ्नो पृष्ठभूमि बताउँदै आधिकारिकताको दाबी गरेका थिए । उनले २०७६ को मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रियसभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरेको स्रोतले बताएको छ ।

अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू आधिकारिक नहुने समेत उनले दाबी गरेका थिए । सूर्य चिन्हमा चुनाव लड्दै आएको र आफू नेकपा एमालेको निर्वाचित अध्यक्ष भएकोले नेकपा एमाले भन्नेबित्तिकै सूर्य चिन्ह आउने बताएका थिए ।

हँसिया-हथौंडाको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सूर्यका तर्फबाट मैले पार्टी एकता गरेको र अरू सबै पदाधिकारी आफूहरुले मनोनयन गरी पार्टी एकता भएको भएपनि एकताको प्रक्रिया नटुंगिदै अहिलेको दुःखद स्थिति देखा परेको समेत उनले बताएका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली किन अचानक पुगे निर्वाचन आयोग ?

निर्वाचन आयोगमा ओलीको ब्रिफिङ : मैलै सूर्य चिह्नबाहेक अरुबाट चुनाव लडेको छैन, प्रचण्डलाई दिन्न !

आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफल (फोटो फिचर)

प्रधानमन्त्री ओलीद्वारा आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन आग्रह

प्रधानमन्त्री ओली किन अचानक पुगे निर्वाचन आयोग ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !