७ असार २०८१, शुक्रबार

संवैधानिक निकायहरूमा भएको नियुक्तिबिरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख सापकोटा


अग्नि सापकोटा फोटो फाइल

काठमाडौं । संवैधानिक आयोगहरुमा भएको असंवैधनिक नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटा रिट निवेदन लिएर दर्ता गराउन आज बिहान शुक्रबार सर्वोच्च अदालतमा पुगेको सापकोटाको सचिवालयले जनाएको छ ।

अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर प्रधानमन्त्रीले आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।

यसअघि संवैधानिक नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरिसकेकी छिन् । उनीहरुको पद तथा गोपनियताको शपथ पनि भइसकेको छ ।

संवैधानिक परिषद्ले विभिन्न आयोगका ४५ जना पदाधिकारी तथा सदस्य नियुक्तिका लागि सिफारिश गर्दै संसदीय सुनुवाईका लागि संघीय संसद् सचिवालयमा पत्र पठाएको थियो । गत पुस ३ गते पठाइएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तथा आयुक्त, निर्वाचन आयोगका आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्यको संसदीय सुनुवाईका लागि परिषद्ले प्रतिनिधिसभामा पत्राचार गरेको थियो ।

परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य, राष्ट्रिय महिला आयोगको अध्यक्ष र सदस्य, राष्ट्रिय दलित आयोगको अध्यक्ष र सदस्य, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्य, आदिवासी जनजाति आयोगको रिक्त अध्यक्ष र सदस्य, मधेशी आयोगको सदस्य, थारु आयोगको पदहरु र मुस्लिम आयोगको सदस्यमा नियुक्तिको लागि सिफारिश गर्दै संसदीय सुनुवाईका लागि आग्रह गरेको थियो ।

सरकारले संवैधानिक परिषद्मा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभएपनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेश अनुसार बसेको परिषद् बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । संसद रहेको अवस्थामा संसदीय सुनुवाइ आवश्यक पर्ने भए पनि संसद नभएको अवस्थामा सिफारिस भएको ४५ दिन भित्र स्वतः नियुक्त हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुले लिए शपथ

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षले जनाए आपत्ति

सभामुख सापकोटाले फिर्ता गरिदिए संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !