काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी सडकमा २३ गते आमसभा गरेर हिन्दू राष्ट्र घोषणा गर्न सक्ने बताएका छन् । आज आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डले यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चलिरहेको बताएका हुन् ।
ओली समूहको नेकपा बागमती प्रदेश कमिटीले माघ २३ गते काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभा गर्ने तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको सो कमिटीले सभामा काठमाडौँका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको हो ।
ओली समूह बागमती प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका छन् ।
ओलीको कदमले दक्षिणपन्थी खुशी भएको र २३ गतेको आमसभामा राजावादीहरू सहभागी समेत पाण्डेले दाबी गरेका छन् । उनले राजावादीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै हिडेको बताउदै हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका पनि उल्लेख गरेका छन् ।
ओलीले झ्यालको बाटो छाडी भीरको बाटो हिँडेर प्रतिनिधिसभा विघटन गरेको पाण्डेले टिप्पणी गरे । उनले ओली अब कम्युनिष्ट नरहेको र धर्मका कुरा गरेर जनतालाई भुलाउन खोजेको आरोप लगाएका छन् । साथै उनले हिजोमात्रै राम मन्दिर बनाउने घोषणा गरेकोले ओली अब कम्युनिष्ट नरही पूजापाठतिर लागेको बताएका छन् ।
यो पनि पढ्नुहोस्
ओली समूहको नेकपाले माघ २३ गते नारायणहिटी सडकमा शक्ति प्रदर्शन गर्ने