१५ असार २०८१, शनिबार

प्रधानमन्त्री ओलीको राष्ट्रहित विरोधी कार्यको अर्को ज्वलन्त उदाहरण कालापत्थर काण्ड : नेता रावल


भीम रावल

काठमाडौँ । अनौपचारिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रहित विरोधी कार्यको अर्को ज्वलन्त उदाहरण कालापत्थर काण्ड भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा केहि समयअघि पोष्ट गर्दै उनले लेखेका छन्, ‘नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई वालुवाटारमा अन्तरवार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा ‘भारतले दावी गर्नुपर्छ’ भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रधानमन्त्री केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो ।’

जी न्यूजले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक-पटक प्रसारण गर्दै आएकोमा फेरि विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट हिजो प्रसारण गरेको थियो ।

नेपालका प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन नेपाल आएका भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’ का प्रधान-सम्पादक सुधीर चौधरीले हिजो सगरमाथावारे कालापत्थर पुगेर गरेको एक स्थलगत रिपोर्ट प्रसारण गर्दै सगरमाथाको पून: नामकरण गरेर भारतीयको नाममा ‘माउन्ट सिकदर’ राख्नुपर्ने भन्दै अभियान थालेका छन् ।

सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेष्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’ उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरेका थिए ।

यो पनि पढ्नुहोस् : भारतीय टेलिभिजन जी न्यूजले भन्यो – सगरमाथामा भारतले दाबी गर्नुपर्छ

सन् १८४७ मा तत्कालीन भारतीय सर्वेयर जनरल कर्णेल जर्ज एभरेष्टको नाममा विश्वको सर्वोच्च हिमशिखरलाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ नामाकरण गरिएको थियो । तर चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेकोले सगरमाथाको नाम पनि उनैको नामबाट ‘माउन्ट सिकदर’ राख्नुपर्ने चौधरीको धारणा छ ।

यसरी नेपाल र भारतवीचको सम्वन्ध सुधार गर्न बिजेपी र भारत सरकारको प्रवक्ता जस्तो बनेर नायक बन्न नेपाल आएका चौधरी खलनायक भएर निस्केका थिए । फेरि उनले यस्तो आपत्तिजनक रिपोर्ट प्रशारण गरेर सवै नेपालीको चित्त दुखाएका छन् । उनको यस्तो कदम र हर्कत नेपालको शिर सगरमाथा तथा राष्ट्रियतामाथि नै आघात पुर्‍याउने भएकोले निन्दनीय भएको वेला नेकपा प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता तथा पूर्वरक्षामन्त्री रावलको यस्तो धारणा सार्वजनिक भएको हो ।

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्री ओलीकै अगाडि भारतीय पत्रकार चौधरीले लगाएको ‘उपरखुट्टी’ को सर्वत्र आलोचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !