८ बैशाख २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन


शेरधन राई

काठमाडौं । नेकपाको केन्द्रमा भएको बिभाजनको असर प्रदेशमा पनि बुलन्द रुपमा देखिन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड-नेपाल समूहले प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी हिजो सोमबार उनीहरुलाई निलम्बन गरेको हो ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ ।

दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनै पनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम ३ महिनाका लागि निलम्बन गरेको प्रचण्ड-नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यद्वारा हस्ताक्षर गरिएको निलम्बन पत्रमा उल्लेख छ ।

गत पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको थियो । यसअघि मुख्यमन्त्री राईले पनि प्रचण्ड-नेपाल समूहका १६ जनालाई ३ महिनाका लागि निलम्बन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !