२४ बैशाख २०८१, सोमबार

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म १५ पदमा वाम बाँडफाँट


p

५ माघ, काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभासँगै राष्ट्रियसभाको सिट बाँडफाँट सहज रुपमा टुंग्याएका नेकपा एमाले र माओवादी केन्द्र राजकीय पदहरु भागवण्डामा केन्द्रित भएका छन् । राजकीय पद बाँडफाँटमा वामपन्थी गठबन्धनले केन्द्र र प्रदेशलाई अलग-अलग क्लस्टर बनाउने भएको छ ।

पार्टी एकता संयोजन समितिले दुईवटा कार्यदलमार्फत सिटहरुको सफल बाँडफाँट गरेको थियो । ईश्वर पोखरेल नेतृत्वको कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँड गर्योे भने सुवास नेम्वाङ नेतृत्वको कार्यदलले राष्ट्रियसभाको सिट भागवण्डा मिलाएको छ ।

स्रोतका अनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउने सम्भावना छ । त्यस्तै १, ३, ६ र ७ मा सभामुख पाउने गरी छलफल अघि बढ्दैछ । माओवादीले ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री तथा ४ र ५ नम्बर प्रदेशमा सभामुख पाउन सक्नेछ ।

यद्यपि, माओवादीले ४ सभामुख दाबी गरेको छ । एमालेले मुख्यमन्त्री लिएको प्रदेशमा आफ्नो र माओवादीको मुख्यमन्त्री भएको प्रदेशमा एमालेको सभामुख बनाउने उसको प्रस्ताव छ ।

प्रदेशका राजकीय पदहरुको बाँडफाँट लगत्तै केन्द्रका पदहरुमा छलफल सुरु हुने एमाले र माओवादीका नेताहरुले बताएका छन् । केन्द्रका पदहरुलाई मुख्यतः १० वटा क्लस्टर बनाइँदैछ, जसमा राष्ट्रपतिदेखि संसदीय समितिका सभापतिसम्म पर्छन् ।

बाँडफाँड गरिने पदहरुलाई यसरी प्राथमिकताक्रममा राखिँदैछ
१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. सभामुख
५. उपसभामुख
६. राष्ट्रियसभा अध्यक्ष
७. राष्ट्रियसभा उपाध्यक्ष
८. संघीय मन्त्रिपरिषद
९. प्रतिनिधिसभाका समिति
१०. राष्ट्रियसभाका समिति

प्रतिनिधिसभा र राष्ट्रियसभमा दुवैमा वामपन्थी गठबन्धनको बहुमत हुने भएकाले एकाध समितिबाहेक अरु सबैमा एमाले माओवादीबीच भागबण्डा हुने देखिएको छ ।

यद्यपि, केन्द्रीय सरकारमा मधेसवादी दल आए यो समीकरणमा केही फरक पर्ने सक्छ । साथै संसदीय समितिमा भने विपक्षी दललाई पनि स्थान दिने एमालेका एक नेताले बताए ।

प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली हुने निश्चित छ । मन्त्रिपरिषद् प्रतिनिधिसभामा एमाले र माओवादीले पाएको सिट संख्याकै अनुपातमा बाँडफाँट हुने कार्यदलका एक सदस्यले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !