जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् ।
यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर आज मंगलबार संसदीय दलको बैठक बोलाई अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएर प्रचण्ड-माधव निकट समूहका महतो चयन गरेको हो ।
आज मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २:४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएको उक्त ब्समुहाका एक नेताले बताएका छन् ।
प्रदेश २ संसदीय दलको उपनेतामा राम कुमार यादव, प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेलीलाइ पनि चयन गरेको छ । बैठक लगत्तै नेकपाका प्रदेशसभा सदस्यहरुले सभामुख सरोज कुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।