१४ बैशाख २०८१, शुक्रबार

वर्षमान पुन मन्त्री पदवाट हटेपछि किन एकाएक प्रधानमन्त्री ओलीप्रति आक्रोशित हुदैछन् ?


वर्षमान पुन र केपी ओली

काठमाडौँ । पूर्वमन्त्री तथा प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता वर्षमान पुन उर्जामन्त्री पदवाट हटेपछि एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित हुँदै हलचल पैदा गर्ने खालका अभिव्यक्ति दिइरहेका छन् । उनले किन यस्तो अभिव्यक्ति दिनुको पछि के कारण छ भन्ने चासो राजनीतिक वृत्तमा पैदा भएको छ ।

पुनले मन्त्री पदवाट राजीनामा दिनुअघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सबै नागरिकले चाहँदा चाहँदै पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न नसकिएको आरोप लगाएका थिए ।

मन्त्री पदबाट राजीनामापछि ‘नागरिक संवाद’ मा पत्रकार प्रशान्त लामिछानेसँग कुरा गर्दै पुनले ऊर्जामन्त्री रहेका बेला आफूले मन्त्रिपरिषदमा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इन्कार गरेको बताएका थिए । आफू ऊर्जामन्त्री छँदा आफैले कुलमान पुनर्नियुक्तिको प्रस्ताव क्याबिनेटमा लिएर आफूले त्यतिखेर प्रधानमन्त्रीलाई नै प्रस्ताव राखेतापनि प्रधानमन्त्री ओलीले त्यो कार्यान्वयन नगरेपछि उनी प्रधानमन्त्री ओलीप्रति चिठिएका थिए ।

पुनले गैरकानूनी रूपमा प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलका नेताहरूको टेलिफोन ‘ट्यापिङ’ गरिरहेको आरोप पनि लगाएका छन् । हिजो मंगलबार प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा रोल्पाको लिवाङमा आयोजित सभामा पुनले यस्तो आरोप लगाएका थिए । सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेकोले नेताहरुले फोनमा गोप्य कुरा गर्न नमिल्ने भन्दै उनले सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरेर हाम्रो जस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा स्वीकार्य हुन बताएका थिए ।

उनले प्रधानमन्त्रीका कारण व्यवसायी समेत आतंकित बनेको आरोप लगाउदै सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतबस आफू मातहत राखेर प्रधानमन्त्रीले सबै निकाय आफूमा केन्द्रित गर्ने संकेत देखाएको आरोप पनि लगाए ।

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसनधान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भएर हामीले सबै अधिकार एउटै व्यक्तिका अधिनमा राखेर आतंकित पार्ने खालको लोकतन्त्र नल्याएको बताएका थिए ।

ओलीको शक्ति र सत्ता दुरुपयोग दुई दिनको भएको भन्दै उनले सत्ता र शक्तिको धम्कीबाट आफूहरु नडराउने चेतावनी दिनुका साथै संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर ओलीले संसद विघटन गरेको उनले बताउदै दलभित्र असहयोग भएको बहानामा जनताको अभिमतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको उनको तर्क थियो ।

नेता पुनले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा आज बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताएका छन् । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको पनि उनले बताएका छन् ।

इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै ओलीले सैनिक सत्ता-संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको आरोप छ । उनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गरे । आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनले बताएका छन् ।

साथै उनले प्रचण्ड-नेपाल समूहको नेकपा नै वैध भएको दावी गर्दै ४४१ सदस्यीय नेकपा केन्द्रीय समितिमध्ये ३१५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको भन्दै पुनले आयोगले साविक केन्द्रीय सदस्यको बहुमतलाई आधार मानेर निर्णय दिने विश्वास व्यक्त गरेका छन् ।

केन्द्रीय समितिको दुई तिहाई सदस्य आफूहरुको समूहमा रहेको भएपनि ओली समूहका १०० जनाले ११०० भन्दा बढी संख्यामा नयाँ सदस्य थप्नु अनैतिक र अराजनीतिक भएको आरोप उनले लगाएका छन् । १०० जनाले ११०० को संख्या थप्नु सामन्तले सयको पछाडि शून्य थपेर ११०० बनाएको जस्तै किर्ते र जालसाँजीपूर्ण काम भएको टिप्पणी पुनको छ । साथै उनले ओलीले प्रदेशसभा समेत विघटनको तयारी गरेको चर्चा चल्न थालेको भन्दै प्रधानमन्त्रीले प्रदेश विकटन गर्ने अधिकार संविधानले नदिएको स्पष्ट गरेका छन् ।

पुस ५ गते आइतबार मन्त्री पदबाट राजीनामा दिएकै राती मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा सरकारी सामान लागेको भनेर उनको सामाजिक संजालमा फोटो भाइरल भएर उनको चर्को आलोचना भएपनि उनको सचिवालयले सामान नलगिएको स्पष्ट पार्दै त्यस्तो गलत प्रचार गर्नेहरूमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिएको थियो ।

पटक-पटक मन्त्री भएका पुन भद्र स्वभावका भएपनि उनी सधै सत्ता र शक्तिको वरिपरि मात्र बसिरहन चाहने नेता भएको तत्कालिन माओवादी केन्द्रकै पुराना नेताले उनलाई आरोप लगाउने गर्छन् । उनकी श्रीमति ओनसरी घर्तिमगर समेत प्रतिनिधि सभाको सभामुख जस्तो राजकीय पदमा आसिन भईसकेकी छन् । यो नेपालको राजनीतिमा नातावाद, परिवारवाद र कृपावाद हावी भएको ज्वलन्त उदाहरण हो ।

कुलमान घिसिङलाई पुनः नियुक्ति नगरिएपछि लेखनाथ कोइरालालाइ निमित्त कार्यकारी निर्देशकको जिम्मा दिएको थियो । प्रधानमन्त्री ओलीकी श्रीमति राधिका शाक्यसँग थर मिल्ने पूर्वको इलाम बजार स्थायी घर भएका हितेन्द्रदेव शाक्यलाई शुरुमा नै कुलमान घिसिङको ठाउँमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएमा देशमा सडक आन्दोलन र चर्को जनदवाव हुने सम्भावना देखेपछि प्रधानमन्त्री ओलीले कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मा दिई शाक्यलाई देखावटी रुपमा केहि समयको लागि एनईए इन्जिनियरिङ कम्पनीमा पठाइएको थियो ।

कुलमान घिसिङको पुनः नियुक्तिको विषयमा सडक आन्दोलन र सामाजिक संजालमा बिरोध मत्थर भएपछि प्रधानमन्त्री ओलीकै दवावमा नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरिएको थियो । उर्जामन्त्री हुँदा पुनले कुलमानलाई पुनः नियुक्ति गर्न खोजेपनि यसको बाधक प्रधानमन्त्री ओली बनेका थिए । पुनले आफू मन्त्री हुँदा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुनः नियुक्त गर्ने पटक-पटक सार्वजनिक रुपमा बताएका थिए । आफूले चाहेको र सार्वजनिक रुपमा बोलेको कुरा व्यवहारमा सम्भव नभएर पटक-पटक आफू अपमानित हुनु परेको पिडा उनले अहिले पोखिरहेको देखिन्छ ।

ओली सरकारको नेतृत्वमा आफू मन्त्री हुँदा मन्त्रीपरिषद्मा आफ्ना प्रस्तावहरु पास नहुँदा ओलीप्रति उनको मनको भित्री कुनामा गुम्सिएका भावनाहरु उनले पोख्न थालेको राजनीतिक विश्लेषकहरुको धारणा रहेको छ । साथै उर्जा मन्त्री जस्तो महत्वपूर्ण पदमा आसिन भएकै बेला प्रधानमन्त्री ओलीले संसद विघटन गरेर प्रचण्ड-नेपाल समूहमा लाग्दा आफूले राजीनामा दिन बाध्य भएकोमा पनि उनले ओलीप्रति आक्रोश पोखिरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । साथै प्रवक्ता जस्तो भएर अभिव्यक्ति दिदैं हिड्नुले उनलाई प्रचण्ड-नेपाल समूहको नेकपामा राम्रै पद मिल्ने पनि सम्भावना देखिएको छ ।

सत्तामा हुँदा त्यसकै जयजयकार गाउने सत्तावाट हटेपछि त्यसकै चर्को आलोचक हुने नेपाली नेताहरुको पुरानै आनीबानी रहेको समेत राजनीतिक विश्लेषकको विचार रहेको छ । जे भएपनि भाई फुटे, गवार लुटे भन्ने नेपाली उखान अनुसार नेकपाको विभाजनले प्रमुख कम्जोर तथा भूमिकाविहीन प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आगामी निर्वाचन फाइदा पुग्ने सहजै अनुमान गर्न सकिन्छ भने नेकपाको दुवै समूहको हालत कम्जोर हुने प्रष्ट देखिन्छ । तर दुई तिहाई बहुमतको शक्तिशाली सरकार बन्ने सम्भावना न्यून रहेकोले भविष्यमा मिलिजुली सरकार बनाउने र गिराउने खेल हुने देखिएकोले नेपालमा राजनीतिक अस्थिरता हुने देखिनु आम नेपाली नागरिकको लागि बिडम्वना कुरा हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समूहका ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणमा कुलमान दोहोरिने सम्भावना जिवितै छ – उर्जामन्त्रीको सचिवालय

उर्जामन्त्री वर्षमान पुनले भने, ‘ढुक्क हुनुस् हामीले कुलमानको नै म्याद थप्छौं’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !