६ बैशाख २०८१, बिहिबार

प्रदेश १ का ३ जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्रीले गुमाए संसदीय दलमा बहुमत


जीवन घिमिरे

बिराटनगर । प्रदेश १ का ३ जना मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शेरधन राईले संसदीय दलमा बहुमत गुमाएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।

वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख छ ।

यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो ।

पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका थिए । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए ।

प्रदेश १ मा ९३ सांसदमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई समूहमा बाँडिदा प्रचण्ड-नेपाल समूहको भीम आचार्यको पक्षमा ४० बढी सांसद छन् भने ओली समूहका मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव बिस्तारै प्रदेश सरकारतिर पनि देखिन थालेको छ । अन्य प्रदेशमा पनि मुख्यमन्त्रीलाई हटाउन प्रचण्ड-नेपाल समूहले तयारी गरिरहेको बुझिएको छ ।

प्रदेश १ का ३ जना मन्त्रीद्वारा राजीनामा

यो पनि पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री राईले किन गरे अर्थमन्त्री आङबोलाई बर्खास्त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !