१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ नयाँ बनेका मन्त्री तथा राज्यमन्त्रीको राजनीतिक पृष्ठभूमि


शीतल निवासमा यसरी गरियो नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटेका छन् । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्री सहित सोही मन्त्रालय सम्हालिसकेका थिए । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गरेका थिए ।

कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युत्भार कटौती लगायतका योजना अगाडि बढेका थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित भएका रायमाझी दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसकेका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका मणिचन्द्र थापा पहिलो पटक राजकीय जिम्मेवारीमा आएका हुन् । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीत मार्फत योगदान गरेका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद थिए । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुन् । डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी भएका हुन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लागेकी हुन् । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिएका हुन् । विसं २०६४ को संविधानसभा सदस्य रहेका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !