२१ बैशाख २०८१, शुक्रबार

प्रमद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई


केपी शर्मा ओली

काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गर्नुभएको हो ।

म्यान्मामा हालै भएको आमनिर्वाचनमा नेशनल लिग फर डेमोक्रेसी भारी बहुमतका विजयी भएकामा बधाई ज्ञापन गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले निर्वाचन परिणामले नेत्री सुचीको सक्षम नेतृत्व र जनतामाझ उहाँप्रतिको लोकप्रियतालाई प्रमाणित गरेको बताउनुभएको छ ।

दुई वर्षअघि नेत्री सुचीले सफलतापूर्वक गर्नुभएको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले नेपाल र म्यान्माबीच विद्यमान निकटतम सांस्कृतिक सम्बन्ध एवं मैत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, बहराइनका अधिराजकुमार त्यहाँको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले पठाउनुभएको शुभकामना सन्देशमा सन् १९७७ मा नेपाल र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बध उत्कृष्ट रहेको बताउनुभएको छ । साथै उहाँले आगामी दिनमा विद्यमान द्विदेशीय सम्बन्ध अझ उन्नत एवं विस्तार हुने आशा व्यक्त गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !