४ जेष्ठ २०८१, शुक्रबार

ओलीको चातुर्यता : प्रचण्डलाई तर्साउन बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै अन्त्य


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको राजनीतिक चातुर्यता भएको स्थापित माहिर राजनीतिक खेलाडी नेपालमा अझसम्म कमै मात्र प्रधानमन्त्री बने होलान् । शायद पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा नेपाली काँग्रेसभित्र आफूभन्दा बरिष्ट नेताहरुलाई पन्छ्याएर आफू सत्तामा रहिरहन ठूलो राजनीतिक कुटिलता अपनाएका थिए ।

तिनै स्व. गिरिजा प्रसाद कोइरालावाट नेपाली राजनीतिमा साम, दाम र दण्ड भेदको पाठ सिकेको बारम्बार दोहर्याउने नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत ओलीको सामू निरीह सावित भईरहेका छन् । प्रचण्डले पनि विगतमा माओवादीको अध्यक्ष भईरहन के पो गरेनन् ।

आफूभन्दा बरिष्ट मोहन बैद्यलाई पाखा लगाउनुका साथै आफ्नो समकालीन प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई कारबाही गर्न समेत पछि परेनन् । नाङ्लो ठटाएर हात्ती तर्साउने कुटनीति समेत अपनाएर आफ्ना माओवादी सैनिकको संख्या कृतिम रुपमा बढाएर तत्कालिन सरकार सामू चुनौती दिएका थिए ।

केहि समयअघि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृह जिल्ला गोरखा पुगेर भनेका थिए, ‘ओलीसँगको संगतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुरुधुरु रोएर बस्नु परेको छ ।’

प्रचण्ड र माधव नेपाललाई तर्साउन बोलाइएको मन्त्रिपरिषद् बैठक औपचारिकतामै सीमित भएर अन्त्य भएको छ । नेकपाको सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो । बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिएका छन् ।

नेकपा सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएकोले आज दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सरेर बेलुकी बसेको थियो ।शुक्रबार शुरु भएको सचिवालय बैठकले आज १ बजे बैठक बस्ने समय तय गरेको भएपनि त्यहि समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । दिउसो मन्त्रिपरिषद् बैठक स्थगित भएपछि सचिवालय बैठक बसेको थियो ।

प्रधानमन्त्री ओली र प्रचण्डले एकपछि अर्को पत्र सचिवालय बैठकमा राखेपछि नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

ओलीले अफ्ठ्योरोमा पार्न खोजिए दल विभाजन सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा ल्याउने हल्ला चलाउँदै सोही अनुसार बैठक बोलाएको आंकलन गरिएको थियो । उनले प्रचण्ड-नेपाललाई तर्साउनकै लागि एकाएक बैठक बोलाएका थिए ।

एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले धेरै बोलेनन् भने सामान्य छलफल र केही सामान्य दैनिक प्रशासनिक विषयमा निर्णय लिएर बैठक सकिएको घोषणा गरिएको छ ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा बल्ल मन्त्रिपरिषद् बैठक शुरु, के होला निर्णय ?

ओलीले एक्कासी मन्त्रिपरिषद बैठक बोलाएपछि…

सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिषद बैठक डाकेका ओली छिरे शिलतनिवास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !