२३ बैशाख २०८१, आइतबार

म जनताले छानेर पठाएको प्रधानमन्त्री हुँ, राजीनामा दिन्‍नँ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

संखुवासभा, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताले छानेर पठाएको प्रधानमन्त्री भएले राजीनामा नदिने बताएका छन् । चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर-दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्न संखुवासभा पुगेका ओलीले देश विकासबाट पछि नहट्ने पनि अभिव्यक्ति दिएका हुन् ।

उनले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याएका हुन् । उनले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने बताउँदै भने, “म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ ।”

बुधबार संखुवासभा पुगेका ओलीले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताएका हुन् । पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । हल्लाको पछि नलाग्नुहोस्’, उनले भने ।

उनले पत्रकारहरुसँग पनि गुनासो पोख्दै विहानै राजीनामा दिँदैछ, बेलुकी राजीनामा दिँदैछ भनेर लेखेको भन्दै प्रश्न गरे, ‘मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो ?’ उनले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् । ‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन’, उनले भने ।

अहिले पार्टीभित्र समस्या देखिएपनि विभाजनसम्म नपुग्ने प्रधानमन्त्री ओलीले बताएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका ओलीले आफूले कुनै पनि हालतमा राजीनामा नदिने अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री ओलीले आफू रहरले प्रधानमन्त्री नभएको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले उत्तर-दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गरेका थिए । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उनले बताए ।

यो पनि पढ्नुहोस्

चीन र भारत जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग छिट्टै : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !