१४ बैशाख २०८१, शुक्रबार

पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक : प्रधानमन्त्री देउवा


PM-sher-bahadur-deuba

१७ पुस, काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल विद्यार्थी संघले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले पार्टीमा बढेको अनुशासनहीनताले निर्वाचन परिणाम अपेक्षा गरेअनुसार नआएको बताए।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही नभएका कारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अन्तर्घात झन् बढेको भन्दै भने,‘आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले कसरी मुलुकमा राष्ट्रिय मेलमिलाप गर्न सक्छ?’

निर्वाचनमा प्रत्यक्षतर्फ पार्टी हार्नुका कारण पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ समिति बनाउने र अब निष्पक्ष छानबिन हुने र अन्तर्घात गर्नेलाई कडा कारबाही हुने बताए। समानुपातिकतर्फको मतपरिणाम हेर्दा कांग्रेस नहारेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुई कम्युनिष्ट पार्टी एक भएर लडेको प्रतिकूल अवस्थामा पनि कांग्रेस दोस्रो भएको बताए।

लोकतन्त्रको स्थायित्वका लागि युवा विद्यार्थीको सक्रियताको खाँचो रहेको औँल्याउँदै प्रधानमन्त्रीले निर्वाचनमा पार्टीले हार व्यहोरे पनि कांग्रेसको सिद्धान्त कहिल्यै नहारेको बताए। कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रियताका सवालमा महामानव विपी कोइरालाले कहिल्यै कसैसँग सम्झौता नगरेको स्मरण गर्दै राष्ट्रियता बलियो भयो भने मात्र नागरिकका हक–अधिकार संरक्षण हुने बताए।

नेता बालकृष्ण खाँणले नेविसंघ बलियो भए मात्र कांग्रेस बलियो हुने र कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्रको सुदृढीकरण हुने बताए। कांग्रेस संस्थापक नेता विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासनबाट स्वदेश फर्केको दिनको अवसर पारेर आइतबार कांग्रेसले मुलुकभर विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !