७ मंसिर २०८१, शुक्रबार

कर्णाली प्रदेशमा ३ मन्त्री थपिदै : यी हुन् नयाँ बन्ने मन्त्रीहरु


अमरबहादुर थापा, चन्द्र बहादुर शाही, करवीर शाही

सुर्खेत, असोज २९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्को अविश्वासको प्रस्तावबाट पूर्वप्रधानमन्त्री  तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल समूह पछि हटेको छ । ३ जना मन्त्रीसहित सचेतक दिने सहमति भएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूह पछि हटेपछि मुख्यमन्त्री विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गरी हटाउने ओली पक्षका नेता यामलाल कँडेलको योजना तुहिएको छ ।

आफ्नो सरकारलाई साथ दिएको गुन तिर्न कर्णाली प्रदेशका प्रदेशका मुख्यमन्त्री शाहीले नेपाल पक्षका ३ जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मंगलबार प्रचण्ड र नेपाल पक्षबीच भएको सहमति अनुसार ३ मन्त्री थप्ने गृहकार्यमा मुख्यमन्त्री शाही जुटेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अमरबहादुर थापा, चन्द्र बहादुर शाही, करवीर शाहीलाई मन्त्री नियुक्त गर्न सूची बुझाएको छ । तीनै जना माधव नेपाल पक्षका सांसद हुन् । दैलेखका अमरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने सम्भावना रहेको छ भने बाँकी २ जनालाई कुन मन्त्रालय दिने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको बताइएको छ ।

मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका १ जना कुर्मराज शाहीलाई मंगलबार नै सचेतकमा नियुक्त गरिसकेका छन् । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै गुलाबजंग शाहलाई हटाएपछि पूर्वमाओवादी पक्षकी सीता नेपालीलाई सचेतकमा नियुक्त गरेपनि त्यसको भोलिपल्ट मुख्यमन्त्री शाहीले कुर्मराजलाई सचेतक बनाएका हुन् । मुख्यमन्त्री हटाउन हस्ताक्षर गरेकी प्रचण्ड पक्षीय पुष्पा घर्तीको पद पनि धरापमा परेको चर्चा छ । उनलाई हटाएर पद्मा खड्कालाई उपसभामुखको जिम्मेवारी दिनुपर्ने मत पनि नेकपाभित्र उठेको छ ।

कर्णाली प्रदेशमा प्रचण्ड पक्षलाई माधव पक्षले साथ दिएकोले अन्ततः मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको सहमति भएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ भने कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चरम उत्कर्षमा पुगेको आन्तरिक लडाइँ सेलाउने भएको छ ।

आइतबार नेकपाका १८ जना सांसदहरुले पार्टी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने देखिएको थियो । खासगरी माधव कुमार नेपाल निकट नेताहरुले अविश्वासको प्रस्ताव अघि बढाएका थिए । नेता माधव नेपाल तथा सुवास नेम्वाङ लगायतको सक्रियतापछि अविश्वासको प्रस्तावबाट नेताहरु पछि हटेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्न शाही सहमत भएसँगै उनीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको हो । नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेका हुन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेर कर्णालीका मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका थिए । नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जवाफ दिएका थिए । नेता नेपालले आइतबार नै कर्णाली प्रदेशका नेता र सांसदहरुलाई फोन गरेर निर्देशन दिएको बताएका थिए । प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले बताएको थियो ।

यो पनि पढ्नुहोस्

कर्णालीमा प्रचण्ड पक्षलाई माधव पक्षको साथ : मुख्यमन्त्री शाहीको जोगियो पद

कर्णालीमा नेकपाको आन्तरिक लडाइँ चरम उत्कर्षमा : मुख्यमन्त्रीले प्रमुख सचेतक शाह हटाई नियुक्त गरे नेपालीलाई

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !