८ बैशाख २०८१, शनिबार

कर्णालीमा नेकपाको आन्तरिक लडाइँ चरम उत्कर्षमा : मुख्यमन्त्रीले प्रमुख सचेतक शाह हटाई नियुक्त गरे नेपालीलाई


महेन्द्रबहादुर शाही र गुलाबजङ्ग शाह

सुर्खेत, असोज २६ । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक लडाइँ चरम उत्कर्षमा पुगेको छ ।  कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् ।

कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् । आज सोमबार नै प्रमुख सचेतकबाट पूर्व एमाले पक्षका शाहलाई हटाई पूर्व माओवादी पक्षकी सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका छन् ।

आइतबार मात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका छन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर लगायत रहेका छन् ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् । ३३ जनामध्ये पूर्व माओवादीका १३ जना, ओली खेमाका १२ जना र नेता नेपाल खेमाका ८ जना सांसद छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट यमलाल कँडेल समूहका ८ जना, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट प्रकाश ज्वाला समूहका ७ जना र पूर्वमाओवादी केन्द्र समूहका ३ जना छन् ।

कर्णाली प्रदेशमा प्रत्यक्ष निर्वाचित २४ ‍जना, समानुपातिकबाट १६ जना गरी जम्मा ४० सांसदहरू रहेका छन् । जसमा नेपाल कम्युनिष्ट पार्टीबाट ३३ जना नेपाली काँग्रेसबाट ६ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना गरी जम्मा ४० जना सांसदहरुको प्रतिनिधित्व रहेको छ ।

पछिल्लो समय नेता कँडेलको समूहमा पूर्व माओवादीका सांसदहरु समेत जोडिएका थिए । मुख्यमन्त्री शाहीबिरुद्ध पूर्वमाओवादी पुष्ठभूमिका दैलेखका धर्मराज रेग्मी, सुर्खेतका ठम्बरबहादुर विष्ट र कर्णाली प्रदेशकी उपसभामुख समेत सुर्खेतकी पुष्पा घर्ती विष्ट गरी तीन जना सांसद समेत हस्ताक्षर गरेका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेर कर्णालीका मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् ।

नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जवाफ दिएका थिए । नेता नेपालले आइतबार नै कर्णाली प्रदेशका नेता र सांसदहरुलाई फोन गरेर निर्देशन दिएको बताएका थिए । प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

यदि कर्णाली प्रदेशमा नेकपा संसदीय दलले बहुमतका आधारमा संसदीय दलको नेता परिवर्तन गरे स्वतः मुख्यमन्त्री पनि परिवर्तन भए त्यही सिको गरेर अन्य प्रदेशमा पनि मुख्यमन्त्री हटाउन चलखेल नहोला भन्न सकिँदैन । खासगरी कर्णालीको ‘क्षेप्यास्त्र’को बाछिटा वागमती प्रदेश र प्रदेश १ मा पर्ने निश्चित जस्तै छ किनकी ती प्रदेशमा पहिला पनि मुख्यमन्त्री चयनमा विवाद आएको हो ।

कर्णाली प्रदेशमा प्रस्ताव दर्ता भएसँगै वागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध हस्ताक्षर अभियान ब्यूँताउने चर्चा सुरु भएको छ । तर त्यसअघि शीर्ष नेताहरुले कर्णाली प्रकरणमा कस्तो नीति अख्तियार गर्छन् भन्ने विषयले निकै महत्व राख्ने धेरैको बुझाइ छ । केन्द्रले यो प्रकरणमा त्यसै छाडे वा बेवास्ता गरे प्रतिक्रिया स्वरुप अन्य प्रदेशमा यो प्रवृत्तिले निरन्तरता पाउने निश्चित भएको नेताहरु बताउँछन् ।

यस्तो छ प्रमुख सचेतकवाट शाहलाई जिम्मेवारीमुक्त गरिएको पत्र

मुख्यमन्त्री शाहीले सोमबार शाहलाई प्रमुख सचेतकवाट जिम्मेवारीमुक्त गरिएको पत्र दिएका हुन् । पत्रमा भनिएको छ, ‘तपाईंले गरेको कामकारवाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु।’

यस्तो छ शाहलाई जिम्मेवारीमुक्त गरिएको पत्र

यस्तो छ प्रमुख सचेतकमा नेपालीलाई नियुक्ति गरिएको पत्र

मुख्यमन्त्री शाहीले सोमबार नेपालीलाई प्रमुख सचेतकमा नियुक्तिपत्र दिएका हुन् । पत्रमा भनिएको छ, ‘प्रस्तुत सम्वन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दलका सदस्य तपाईँ सीता कुमारी नेपालीलाई प्रदेश सभा दलको विधान बमोजिम पार्टी र दलको हितमा काम काज गर्नुहुने विश्वास सहित तपाइलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको छु’ ।

यस्तो छ नेपालीलाई नियुक्ति गरिएको पत्र

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !