६ बैशाख २०८१, बिहिबार

कर्णालीमा प्रचण्ड पक्षलाई माधव पक्षको साथ : मुख्यमन्त्री शाहीको जोगियो पद


महेन्द्रबहादुृर शाही

सुर्खेत, असोज २७ । कर्णाली प्रदेशमा प्रचण्ड पक्षलाई माधव पक्षले साथ दिएकोले अन्ततः मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको सहमति भएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ भने कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चरम उत्कर्षमा पुगेको आन्तरिक लडाइँ सेलाउने भएको छ ।

आइतबार नेकपाका १८ जना सांसदहरुले पार्टी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने देखिएको थियो । खासगरी माधव कुमार नेपाल निकट नेताहरुले अविश्वासको प्रस्ताव अघि बढाएका थिए । नेता माधव नेपाल तथा सुवास नेम्वाङ लगायतको सक्रियतापछि अविश्वासको प्रस्तावबाट नेताहरु पछि हटेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्न शाही सहमत भएसँगै उनीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको हो । नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेका हुन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेर कर्णालीका मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका थिए ।

नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जवाफ दिएका थिए । नेता नेपालले आइतबार नै कर्णाली प्रदेशका नेता र सांसदहरुलाई फोन गरेर निर्देशन दिएको बताएका थिए । प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले बताएको थियो ।

माधवकुमार नेपाल पक्ष अविश्वासको प्रस्ताव पेस गर्ने पूर्ववत निर्णयबाट पछि हटेपछि शाहीको सरकारमाथि आइपरेको संकट टरेको हो । अव केही दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने भएको छ । कर्णाली प्रदेशसभाका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्र शाहीले कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हिजो सोमबार नै प्रमुख सचेतकबाट पूर्व एमाले पक्षका गुलाबजङ्ग शाहलाई हटाई पूर्व माओवादी पक्षकी सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइएको मुख्यमन्त्री शाहीले जनाएका थिए ।

यो पनि पढ्नुहोस्

कर्णालीमा नेकपाको आन्तरिक लडाइँ चरम उत्कर्षमा : मुख्यमन्त्रीले प्रमुख सचेतक शाह हटाई नियुक्त गरे नेपालीलाई

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !