२३ बैशाख २०८१, आइतबार

एमाले र माओवादी एकअर्कामा विलय भई तेस्रो प्रकारको पार्टी बन्ने तयारी


एमाले र माओवादी एकअर्कामा विलय भई तेस्रो प्रकारको पार्टी बन्ने तयारी

६ पुस, काठमाडौं l साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।

‘केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्दैछ, त्यसले एकीकरण प्रक्रियाबारे छलफल गर्ने तथा अजेन्डा तयार पार्ने काम गर्नेछ,’ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार, ‘त्यस बैठकमा जानुअघिको अजेन्डा तयार गर्न माओवादीले बैठक सम्पन्न गरिसकेको छ, अब एमालेले आन्तरिक बैठक सक्नेबित्तिकै संयुक्त बैठक बस्नेछ ।’ उनका अनुसार सो बैठकमा पेस गर्ने औपचारिक अजेन्डा र विषय तयार नपारिसकेकाले बैठक बस्न ढिलाइ भएको छ । माओवादीको गत ३ गतेको बैठकले एकीकरण प्रक्रियालाई प्राथमिकता दिने निर्णयसहित पदीय बाँडफाँटमा सम्मानजनक अवस्था दिलाउने म्यान्डेटसहित पार्टी नेतृत्वलाई जिम्मेवारी दिइसकेको छ ।

एमाले नेता सुबासचन्द्र नेम्बाङका अनुसार बिहीबार बस्ने स्थायी समिति बैठकमा माओवादीसँगको एकीकरण प्रक्रिया कसरी अगाडि लैजाने भन्नेबारे छलफल हुनेछ । ‘स्थायी समिति बैठकमा छलफलपछि एकता संयोजन समितिमा पार्टीका अजेन्डा लैजानेछौं, उनका अनुसार उक्त बैठकले पार्टी एकीकरणलाई प्राथमिकतामा राखेर निर्वाचन परिणामको समीक्षा पनि गर्नेछ ।केन्द्रीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत छन भने माओवादीवाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता श्रेष्ठ, रामबहादुर थापालगायतका नेता सम्मिलित छन् । दुवै दलले आआफ्ना अजेन्डा शुक्रबारको बैठकमा पेस गर्दैछन् ।

यसैबीच काठमाडौंबाट प्रतिनिधिसभा र प्रदेशसभामा विजयी उम्मेदवारलाई बधाई दिने कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकीकरणमा आशंका नगर्न आग्रह गरेका छन । ‘पार्टी एकता हुन्छ कि हुन्न भनेर धेरैले सोचिरहनुभएको होला, ढुक्क रहनुहोस्, पार्टी एकता हुन्छ,’ ओलीले भने, ‘सरकार पनि बनाउँदै जान्छौं, एकीकरण पनि गर्दै जान्छौं, अब यो प्रक्रिया रोकिन्न ।’ एकीकरणको उद्देश्यसहित गठबन्धन बनाएर निर्वाचनमा गएका कारण जनताले भरोसाका साथ उल्लेख्य मत दिएको बताउँदै उनले जनमतको सम्मान पार्टी एकीकरणबाट गरिने स्पष्ट पारे । ‘दुवै पार्टीलाई एकीकरण र समृद्धिका लागि जनताले मत दिएका छन्, जनताको यो आकांक्षा पूरा गरेनौं भने, उनीहरुको विश्वासमा धोका दियौं भने यस्तो मौका कयौं वर्षसम्म आउँदैन,’ ओलीले भने, ‘यो जनमतलाई दुवै पार्टीले सम्मान गर्नेछन्, एकीकरण निकट भविष्यमा नै हुनेछ, आआफ्नो ठाउँबाट तपाईंहरु लाग्नुहोस् ।’
ओलीले एमाले र माओवादी एकअर्कामा विलय भई तेस्रो प्रकारको पार्टी बन्ने बताए । ‘एकीकरणपछि माओवादीले एमाले निल्छ, एमालेले माओवादी निल्छ अनि त्यसपछि तेस्रो प्रकारको पार्टी बन्छ,’ ओलीले भने, ‘त्यसपछि पहिलाको जस्तो एमाले र माओवादी खोजेर पाउनुहुन्न, नयाँ प्रकारको पार्टी बन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !