१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा सचिवालय बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक


मन्त्रिपरिषद् बैठक

काठमाडौं, असोज ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद्को नियमित बैठक साढे ९ बजे बालुवटारमा बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिए ।

हिजो सोमबार बस्नुपर्ने नियमित मन्त्रिपरिषद्को बैठक नबसेकोले आज बस्न लागेको हो । आजको बैठकमा कोभिड-१९ लगायत अन्य नियमित प्रक्रियाका बारेमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

आजको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् । सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद १ वर्षले थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

निर्देशक समितिको उक्त सिफारिसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने तयारी छ । यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा विभिन्न देशमा रिक्त राजदूत सिफारिसका विषयमा पनि निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

साथै आज मंगलबार नै दिउसो नेकपाको सचिवालय बैठक १२:३० बजे बालुवाटारमा बोलाइएको छ । आइतबार बसेको सचिवालय बैठक सोमबार बस्ने गरी स्थगित भएपनि गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो ।

नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम तथा महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ । सचिवालय बैठकले मापदण्ड तय गरेर नेकपाले मन्त्रीहरुको हेरफेर गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक आज बस्दै : मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुनसक्ने

पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !