७ मंसिर २०८१, शुक्रबार

नेकपाको निर्णय : ओलीले सरकार र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकामा पार्टी चलाउने


केपी शर्मा ओली र प्रचण्ड

काठमाडौं, भदौ २६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीले पार्टीले हस्तक्षेप बिना स्वतन्त्र रुपमा सरकार चलाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको भूमिकामा पार्टीको नेतृत्व गर्ने निर्णय गरेको छ ।

शुक्रबार बैठकले विष्णु पौडेल नेतृत्वको विवाद समाधान कार्यदलको सुझाव अनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको प्रस्तावलाई पारित गर्दै स्थायी समिति बैठक सकिएको हो । असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै शुक्रबार टुंगिएको हो । बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय भएको हो । अध्यक्षको कार्यविभाजन केपी शर्मा ओलीले सरकारको प्रभावकारी सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका कामको नेतृत्व गर्ने गरी कार्यविभाजन भएको उनले बताए । यस्तै उनले बैठकले सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने निर्णय समेत गरेको जानकारी दिए ।

साथै उक्त बैठकले नेकपा एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमै गर्ने निर्णय गरेको उनले बताए । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।

अमेरिकी सहयोग सम्बन्धी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय समेत स्थायी समिति बैठकले गरेको छ । उनका अनुसार के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने बताए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले बिहीबारको बैठकको प्रारम्भमै धारणा राखेका थिए । ओलीले देशी र विदेशी शक्तिले पार्टी फुटाउन चाहेको तर त्यसलाई आफूहरुले असफल पारेको प्रष्ट पारेका थिए ।

बिहीबारको स्थायी समिति बैठकमा १३ जना स्थायी समिति सदस्यले धारणा राखेका छन् । आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राखेका थिए ।

नेताहरुको विचार सुनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको अन्तिममा धारणा राखेका थिए । श्रेष्ठका अनुसार छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ । ती सदस्यले धारणा राखेपछि प्रचण्डले प्राप्त सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए भने त्यसपछि विभिन्न निर्णय गर्दै बैठक सकिएको थियो ।

बैठकले पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प गरेको छ । पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् आजको स्थायी कमिटी बैठकले गरेका निर्णयका मुख्य बुँदाहरु

१. पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प ।

२. पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय ।

३. ‘अध्यक्षको कार्यविभाजन केपी शर्मा ओलीले सरकारको प्रभावकारी सञ्चालन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका कामको नेतृत्व गर्नेगरी कार्य विभाजन ।

४. सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने । 

यो पनि पढ्नुहोस्

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

ओली-दाहालको प्रतिवेदनमाथि माधव नेपाललाई ‘नोट अफ डिसेन्ट’ लेख्न क-कसले रोक्यो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !