१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणको बढ्दो चुनौती सामना गर्न सरकार असमर्थवान : सभापति देउवा


प्रधानमन्त्री ओली र देउवा बालुवाटारमा फाइल फोटो

काठमाडौ, १ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देउवा बालुवाटार छिर्नुलाई अर्थपूर्ण मानिएको छ ।

आजको प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाको त्रिपक्षीय बैठकमा संवैधानिक आयोगको नियुक्तिलगायत समसामयिक विषयमा छलफल केन्द्रित भएको बुझिएको छ । लामो समयदेखि संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न आयोगहरुमा पदहरु खाली छन् ।

प्रधानमन्त्री ओली र पार्टी सभापति देउवाको भेटघाट र छलफलबारे नेपाली काँग्रेसको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

उक्त प्रेस बिज्ञप्तिका अनुसार सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री के.पी. शर्मा ओलीको निमन्त्रणामा बालुवाटारमा उनीसंग भेट भएको छ । कतिपय संवैधानिक नियुक्तिहरुबारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गरेका थिए भने सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका निम्न ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

१. सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले १० दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ? भनेर ध्यानाकर्षण गराएका थिए ।

साथै देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको भएपनि सरकारको भुमिका सन्तोषजनक नदेखिएकोले ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह देउवाले ओलीलाई गरेका थिए ।

२. कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ नदेखिएकोले कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ? भनेर प्रश्न समेत गरेका थिए ।

३. त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक सकिएलगत्तै देउवा किन पुगे ओली र प्रचण्डलाई भेट्न बालुवाटार ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !