१४ बैशाख २०८१, शुक्रबार

साझा पार्टी छाडे सूर्यराज आचार्य र मुमाराम खनालले


साझा पार्टी छाडे सूर्यराज आचार्य र मुमाराम खनालले

काठमाडौं, असार २८ । साझा पार्टीका सचिवालय सदस्यहरु सूर्यराज आचार्य र मुमाराम खनालले उक्त पार्टी छाडेका छन् । आज आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट अलग्गिने बताएका हुन् । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् ।

उक्त पार्टीका सहप्रवक्ता शरदराज पाठकका अनुसार केन्द्रीय बैठकले उनीहरुले पार्टीभन्दा बाहिर रहेर सघाउने बताउँदै बाहिरिएको र उनीहरुले अहिलेसम्मको योगदानलाई पार्टीले धन्यवाद दिएको जानकारी दिएका छन् । साझा पार्टीमा केही समयदेखि आचार्य-खनालको संयोजक रवीन्द्र मिश्र सहितको केन्द्रीय टिमसँग मतभिन्नता रहँदै आएको थियो ।

मिश्र लगायत १५ सदस्यीय सचिवालयको बहुसंख्यक टिम विवेकशील लगायतका मन र विचार मिल्ने पार्टीहरूसँग एकीकरण गरेर अगाडि बढ्ने पक्षमा छन् । सुदूर पश्चिममा राम्रो प्रभाव भएका गोपी हमाल र नयाँ शक्ति छोडेर आएका केशव दाहाल सहित सचिवालयका अरू सदस्यले मिश्रलाई साथ दिएका छन् ।

आचार्य-खनालले भने पार्टी पुनर्गठनका लागि संयोजकमात्र राखेर पार्टीका सबै समितिहरू भंग गर्ने प्रस्ताव राखेका थिए । यसरी समिति भंग गरिसकेपछि देशव्यापी छलफल र परामर्श गरेर पार्टी पुनर्गठन गर्ने उनीहरूको सुझाव थियो।

असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठिक नहुने र विवेकशील लगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको छ । उक्त निर्णय भएपछि नै आचार्य-खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै आफूहरू पार्टीबाट बाहिरिने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु