२४ बैशाख २०८१, सोमबार

आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी


ayodhi-yadav

कात्तिक २२, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रमुख आयुक्त डा. यादवले आयोगबाट खटिएका अधिकारीले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन आचारसंहिता पालना गर्नेपर्ने जिकिर गरे ।
बुधबार बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न ८ संस्थाले बालबालिकालाई निर्वाचनमा प्रयोग नगराउन दिएको ज्ञापनपत्र बुझ्दै डा. यादवले कुनैपनि दलले निर्वाचन प्रचार–प्रसारलगायतका क्रियाकलापमा बालबालिका प्रयोग गर्नु आचारसंहिताविपरीत हुने बताए । प्रमुख आयुक्त डा. यादवले चुनावी गतिविधिमा बालबालिकाको दुरुप्रयोग रोक्न गाउँगाउँमा अभियान चलाउन संघ–संस्थाहरुलाई आग्रह गरे ।
बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाले विद्यालयमा मतदान केन्द्र र मतगणनास्थल नराख्न आग्रह पनि गरे । तर, प्रमुख आयुक्त डा. यादवले निर्वाचन राष्ट्र र प्रजातन्त्रका लागि भएकाले केही दिन पठन–पाठन प्रभावित हुँदैमा समस्या नहुने भन्दै विद्यालय भवनको विकल्प खोज्न सजिलो नभएको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !