२४ बैशाख २०८१, सोमबार

अबको स्थायी सरकार वाम गठबन्धनको : अध्यक्ष ओली


oli

कार्तिक २०, ताप्लेजुङ | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।आइतबार वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) बीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उहाँले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताउनुभयो । ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाब चिन्न लिएर लडेपनि एउटै उद्देश्यका साथ अघि बढेको स्पष्ट पार्नुभयो ।

पार्टी एकताको अभियान सँगै राष्ट्र निर्माणको महायज्ञमा आफूहरु पसेकाले अबको सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन उहाँको आग्रह थियो । स्थिर सरकार निर्माणकै लागि एकता भएको र पार्टी एकताको कुराले अहिले दुवै पार्टीमा उत्साह छाएको समेत उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “म माथि छु, यहाँ योगेश हुनुहुन्छ, विकास कहाँ चाहिन्छ भन्ने ठाउँ देखाई दिनुहोस् योजना म पार्छु ।”
यसअघि ताप्लेजुङबाट निर्वाचित सांसदलाई मन्त्री बनाउन नसक्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै ओलीले अब यहाँको विकासका लागि यहाँकै जनप्रतिनिधिलाई जिम्मेवारी दिने स्पष्ट पार्नुभयो । यसअघि काँग्रेसका कारण धेरै पार्टी मिलाएर सरकार बनाउनुपर्दा ताप्लेजुङबाट आफ्नो पार्टीका सांसद मन्त्री बन्न नसकेको ओलीको भनाइ थियो ।
अधिनायकवादका विरुद्धमा लड्ने एमालेलाई अहिले विपक्षीहरुले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फिँजाइरहेको उहाँको भनाइ छ । पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भन्दै उहाँले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने दाबी गर्नुभयो । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उम्मेदवार बन्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !