१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली निकट नेताहरुसँग प्रचण्डको खुमलटारमा छलफल


खुमलटारमा छलफल

ललितपुर, असार १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुसँग बिहीबार बिहान खुमलटार स्थित आफ्नो निवासमा छलफलका लागि बोलाएका छन् ।

अध्यक्ष प्रचण्डसँग छलफलका लागि ओली निकटका नेताहरु सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदिप ज्ञवाली पुगेका छन् । साथै उक्त छलफलमा प्रचण्ड-नेपाल समूहका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका पनि उपस्थित छन् ।

हिजो बुधवार मात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको झम्सिखेलको एक रेस्टुरेन्टमा भएको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई स्थायी समिति बैठकबाट राजीनामाका लागि निर्देशन दिने निर्णय गर्ने निष्कर्ष निकालेको थियो । साँझ ५ बजेबाट ८ बजेसम्म चलेको उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापासहित ३१ जना नेता सहभागी थिए ।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन् । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए ।

पछिल्लो समय पार्टीभित्र अन्तरविरोध चर्किन थालेपछि केपी ओली र प्रचण्ड दुबै पक्षका गुटका बैठकहरु सुरु भएका हुन् । बुधबार बिहान मात्रै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटको भेला गराएपछि बेलुका प्रचण्ड नेेपाल पक्षले पनि गुटको बैठक डाकेको हो । हिजो बुधबारै बिहान ११ बजेपछि बसेको स्थायी कमिटीको बैठक ५ जना नेता बोलेपछि विहीबार पुनः बस्ने गरी स्थगित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !