७ बैशाख २०८१, शुक्रबार

सीमा विवादबारे छलफल गरेर नेकपा स्थायी कमिटी बैठक सकियो, भोलि ११ बजे फेरि बस्ने


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, असार १२ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि ११ बजे फेरि बस्ने गरेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए । तीमध्ये परराष्ट्र मन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल गरिरहेको भएपनि भारतले सकरात्मक तत्परता नदेखाएको बताएका थिए ।

उनले चीनबाट नेपाली सीमा अतिक्रमण भएको भन्नेबारे पछिल्लो समय आएका समाचार पनि झूटा रहेको स्थायी कमिटी बैठकमा बताएका छन् । अन्य स्थायी समिति सदस्यहरूले लिम्पियाधुरा सहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छ ।

उनका अनुसार वक्ताहरूले दुई देशका प्रवुद्ध व्यक्तिहरूले तयार पारेको इपिजी प्रतिवेदन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने खालको भए पनि भारत बुझ्न नमानेकाले समस्या भएको बताएका थिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन् । उनले आफू अरू नै काममा व्यस्त भएको भन्दै बैठक चलाउने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीकाेआज दाेस्राे दिनकाे बैठकमा १८ जना सदस्यहरूले नेपालकाे सीमा समस्या र समाधानका बारेमा आ-आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

उनका अनुसार आजको बैठककाे शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराकाे अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेकाे, तर भारतले वार्ताकाे सकारात्मक तत्परता नदेखाइरहेकाे जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याकाे समाधान गरिने उल्लेख गरेको बताएका छन् ।

थापाका अनुसार परराष्ट्रमन्त्रीले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएकाे भन्ने झूठाे, नियाेजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएकाे र चीनसँग सीमाकाे सम्बन्धमा कुनै समस्या नरहेकाे पनि स्पष्ट परेको जानकारी दिएका छन् ।

आजको बैठकमा लीलामणि पाेखरेल, मातृका यादव, देव गुरूङ, गाेकर्ण विष्ट, शंकर पाेखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बाेहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम अनचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्याैपाने र नारयणकाजी श्रेष्ठले आफ्नो धारणा राखेको उनले बताएका छन् ।

बैठकमा महासचिव विष्णुप्रसाद पाैडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्य व्यस्तताका कारण आजकाे बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारू रूपमा संचालन गर्न भन्नुभएकाे जानकारी गराएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !