१० जेष्ठ २०८१, बिहिबार

गोरखा जिल्ला सधैँ अग्रगमनको पक्षमा छ – अध्यक्ष दाहाल


कार्तिक १०, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतदेखि नै गोरखा जिल्ला राजनीतिक र सामाजिक आन्दोलनमा जहिले पनि अग्रगमन र प्रगतिका पक्षमा उभिएको बताउनुभएको छ । गोरखामा क्रियाशील नयाँ शक्ति पार्टी नेपालका करिब २५ नेता तथा कार्यकर्तालाई यहाँ बिहिबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उहाँले अग्रगमनका पक्षमा रहेका सबै शक्ति वाम गठबन्धनका पक्षमा उभिने जिकिर गर्नुभयो ।

 उहाँले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लामो समयदेखि नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य जीतबहादुर घले, तमु परिषद्का केन्द्रीय सहइन्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्बरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा जीतबहादुर घले, बलबहादुर घले, वाम बुद्धिजीवी खड्कबहादुर गुरुङलगायत नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

माओवादी केन्द्र प्रवेश गर्ने नयाँ शक्तिका गोरखाली नेताले साना पार्टी र समूहबाट नेपालको आर्थिक समृद्धि सम्भव नभएको बताउँदै नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाएर मात्र समाजवादमा पुग्न सकिने धारणा राख्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, क्षेत्र नं १ का उम्मेदवार हरिराज अधिकारीलगायत नेता उपस्थित हुनुहुन्थ्यो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !