१४ बैशाख २०८१, शुक्रबार

सिसडोल र बन्चरेमा काठमाडौं महानगरले छुट्यायो बजेट


काठमाडौँ महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारीसाधन धुने प्रयोजनसहित दर्जनौं योजनामा बजेट विनियोजन गरेको छ । कामपाले चालु आर्थिक वर्षमा विषादी छर्न ५० लाख रुपियाँको ड्रोन खरिद गर्ने भएको छ ।

वातावरण र कृषि विभागको बजेटमा ड्रोन खरिद गर्ने विषय उल्लेख गरेको छ । त्यसै गरी फोहोर खसालेपछि सफा सवारीसाधनलाई सिसडोल हुँदै काठमाडौं प्रवेश गर्न दिने गरी वासिङ सेन्टर निर्माण गर्न लागेको हो । त्यसका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । महानगरले सो क्षेत्रमा २५ करोडभन्दा बढी रकम छुट्टयाएको पुस्तकमा उल्लेख छ ।

झण्डै डेढ दर्जन बढी शीर्षकमा बजेट विनियोजन गरेको छ । स्थानीयले भदौ १ गतेबाट फोहोर फ्याँक्न नदिने चेतावनी दिइरेहको अवस्थामा महानगरले फोहोरलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न, स्थानीयलाई क्षतिपूर्ति, विद्यार्थी छात्रवृत्ति, विद्यालयमा अनुदानमा शिक्षक, बालीको रकम, विकास निर्माणलगायतका शीर्षकमा करोडौं बजेट विनियोजन गरेको छ ।

सिसडोल ल्यान्डफिल साइटमा प्रदूषण मापन गर्न १० लाख, बन्चरेमा ५ लाख, लिचेड ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न ५० लाख, प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक अनुदानबापत ३ करोड क्याचड्रेन निर्माण गर्न २० लाख रुपियाँ विनियोजन गरिएको छ ।

स्थानीयवासीले १७ वटै स्थानीय निकायले फोहोर व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने बताइरहेको अवस्थामा कामपा एक्लैले यति धेरै रकम विनियोजन गरेको हो । बजेट अनुसार सिसडोलमा पोस्ट क्लोजर तथा लिचेड ट्रिटमेन्ट विस्तृत सम्भाब्यता अध्ययन शीर्षकमा १० लाख, सिसडोमा लिचेड लट्रिटमेन्ट र पार्क निर्माण गर्न ४ करोड, ककनी र धुनिवेंशी गाउँपालिकाको विकास निर्माणमा ६ करोड रुपियाँ विनियोजन गरेको छ ।

दुई गाउँपालिका पनि फोहोरमैला पीडित क्षेत्रभित्र पर्ने भएकोले यति धेरै बजेट विनियोजन गरेको हो । कामपाले प्रभावितलाई स्वाथ्य विमा कार्यक्रम शीर्षकमा २ करोड, क्षतिपूर्ति वापत छात्रवृतिमा ५ लाख, वैज्ञानिक अध्ययन २० लाख, स्वाथ्य चौकी सञ्चालन खर्चबापत ३० लाख, सामाजिक योगदान शीर्षकमा १० लाख, ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई बाली तथा जग्गाको क्षतिपूर्ति र घरटहरा भाडाबापत ६५ लाख रुपियाँ विनियोजन गरेको छ ।

मेयर बालेन्द्र साहले व्यवस्थित रूपमा फोहोर मैला व्यवस्थापन गर्न बजेट व्यवस्थापन गरेको स्थानीयबासीलाई बताउँदै आएका छन् । कामपाले कृषि प्रवर्धन कार्यक्रमको लागि २० लाख, बन्चरे ल्यान्डफिल साइटमा पहँुच मार्ग र बत्ती जडान शीर्षकमा १ करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी सो क्षेत्रमा विभिन्न भैपरिआउने शीर्षकमा लाखौं रुपियाँ खर्च हुने गरेको छ । त्यसबाहेक दुर्घटना हुँदा क्षतिपूर्ति सवारी मर्मत, स्थानीयलाई रोजगारीलगायत शीर्षकमा लाखौं रुपियाँ खर्च भइरहेको कामपा वातावरण विभागले जनाएको छ ।

त्यसबाहेक सरकारले तीन अर्बभन्दा बढी खर्च गरिसकेको छ । तर, सरकारले विभिन्न समयमा वार्ता र त्यसपछि सहमति गरेपछि कार्यान्वयन हुन नसकेको स्थानीयको भनाइ छ । स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जतिसुकै रकम खर्च गरे पनि जनताको लागि फलदायी काम गर्न नसकेको आरोप लगाए । उनले भने– ‘खर्च भयो, खर्च गर्ने भन्छ कहाँ कसरी गरिरहेको जानकारी हुन सकेको छैन ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !