१४ बैशाख २०८१, शुक्रबार

खानेपानीका जारभित्र किरा र लेउ भेटिएपछि…


खानेपानीका जार

भक्तपुर । काठमाडौं उपत्यकाभित्र अहिले हैजा महामारी तीव्र फैलिरहेकै बेला सर्वसाधारणले पैसा तिरेर पिउने पानीमा समेत किरा र लेउ भेटिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनक्रममा जारभित्रै किरा र लेउ भेटिएको हो ।

यसबाट सर्वसाधारणको स्वास्थ्यमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापर्बाही गरेको पाइएको छ । विभिन्न ब्रान्डका खानेपानीको जारभित्र किरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुर नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासंघ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकारलगायत टोलीले अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा नेतृत्वको टोलीले ‘अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जार’ नष्ट गरेको छ । विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौंको संख्याका पुराना जार नष्ट गरिएका छन् ।

पुराना जार अत्यधिक प्रयोगले पानीमा किरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलबाड गरेको पाइएको जनाउँदै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले ‘भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको’ जानकारी दिए ।

उनका अनुसार खानेपानी उद्योगको गम्भीर गल्तीका कारण जनतालाई किरा खुवाएर मानवीय स्वास्थसँग गम्भीर खेलबाड गरिरहेकोसमेत पुष्टि भएको छ । त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।

अनुगमनक्रममा दुई उद्योगको पानी परीक्षणका लागि नमुना संकलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !