४ जेष्ठ २०८१, शुक्रबार

सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न कांग्रेस एकमत


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फाइल फोटो

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ ।

यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा कांग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो ।

गत २७ असारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ । बैठकमा आगामी निर्वाचनका विषयमा कांग्रेसभित्र रणनीतिक बहस चल्दै छ । कांग्रेसले आगामी निर्वाचनमा तालमेल गरेरै जाने निर्णय यसै बैठकबाट गर्ने सम्भावना छ ।

जारी बैठकमा संस्थापनइतर समूहले पनि निर्वाचनमा गठबन्धन कायम राखेर जाँदा नेता कार्यकर्तालाई न्याय हुन्छ कि हुँदैन भनेर प्रश्न गरिसकेका छन् । यसअघि स्थानीय तहको निर्वाचनमा इतरसमूहले गठबन्धन गर्न नहुने अडान लिएको थियो ।

केन्द्रीय समिति बैठकको पहिलो दिनमा नै इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीको नीति, आदर्श र सिद्धान्तविपरीत गठबन्धन गरिएको भन्दै नेतृत्वको आलोचना गर्दा प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेल पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा सभापति देउवासामु प्रश्न गर्दै उनले भनेका छन्, ‘आगामी निर्वाचनमा व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त ?’कोइराला पक्षकै नेता एवं लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले पनि जारी बैठकमा आगामी निर्वाचनमा तालमेल हुनुपर्ने धारणा राखे ।

‘स्थानीय तहमा तालमेल गर्नै हुने थिएन, गरिहालियो, अब किन तालमेल नगर्नु र ?’ जारी केन्द्रीय समिति बैठकमा उनले धारणा राख्दै भने । जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं पनि आगामी निर्वाचनमा सत्ताधारी दलबीच चुनावी तालमेल कायम रहने प्रस्ट सन्देश दिइसकेका छन् ।

शीर्षस्थ नेताहरू पनि गठबन्धनबीचको तालमेल कायम राखेरै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू गठबन्धन कायम गरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचमा गठबन्धन भएको थियो ।

स्थानीय तहको निर्वाचनको परिणामले तालमेलको विषयमा कांग्रेस झनै हौसिँदै आएको छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !