२४ बैशाख २०८१, सोमबार

मेकअप गरेर जाने फिर्ता : सक्कली अनुहारले पाए राष्ट्रिय परिचयपत्र


राष्ट्रिय परिचयपत्र

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।

विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताए । उहाँका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ । त्यो बेलामा त्यही स्वरूप नरहन सक्छ । त्यस्तो भएमा व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनको झमेलामा पर्नुपर्छ ।

उहाँले आम नेपालीको कपाल जन्मजात रूपमा कि त कालो कि त सेतो हुनसक्ने भन्दै कसैकसैको अपवादका रूपमा हल्का खैरो हुनु स्वाभाविक हुने बताउनुभयो तर मान्छेको स्वरूप नै फरक पर्ने गरी कपाल र अनुहारमा रङ दल्ने र अनेक गरगहना लगाएर अनुहार छोप्न नमिल्ने उनले उल्लेख गरे ।

राष्ट्रिय परिचयपत्रकै आधारमा भविष्यमा सरकारले दिने विभिन्न सुविधाका प्रक्रियामा भाग लिनुपर्छ । त्यतिमात्र हैन अन्तर्राष्ट्रिय मापदण्डको राहदानी बनाउन आइकाओले तोकेअनुसारको परिचयसहितको फोटो हुनुपर्छ । राहदानीको मानिस र परिचयपत्रको मानिसको अनुहार फरक देखिएमा भविष्यमा अनेक समस्या व्यक्तिले झेल्नुपर्ने हुन्छ ।

सोही समस्या नआओस् भन्नाका खातिर राष्ट्रिय परिचयपत्र बनाउने बखतमा कडाइ गरिएको महानिर्देशक भट्टराईले बताए । परिचयपत्र र नागरिकताको फोटोमा मेल नखाने गरी बदलिएको अस्वाभाविक अनुहार देखियो भने कर्मचारीले केरकार गर्छन् ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक ललितकुमार बस्नेतले भने, “सक्कल कागजपत्र मात्र हैन सक्कली अनुहारका साथमा आइदिनुभयो भने व्यक्ति र विभाग दुवैलाई सहज हुन्छ भनेर सम्झाउने गरेका छौँ ।” उनका अनुसार परिचयपत्रका लागि फोटो खिच्न आउँदा नागरिकता, बसाइँसराइ र महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र वा अन्य नाता प्रमाणित गर्ने प्रमाणपत्रको सक्कलसहित उपस्थित हुनुपर्छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पहिले अनलाइन फाराम भरेर गएमा काम छिटो हुन्छ । पछिल्लो समय विभाग र विभागले तोकेका स्टेसनहरूमा राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ । गत वर्षको मङ्सिरदेखि राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

जसका कारण विभागले तोकेका वितरण केन्द्रहरूमा राहदानीजस्तै परिचयपत्र लिनेको भीड अत्यधिक हुने गरेको छ । हालसम्म ८० लाख जनालाई राष्ट्रिय परिचयपत्रको नम्बर प्रदान गरिसकिएको छ । यो समाचार गोरखापत्र दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !