५ जेष्ठ २०८१, शनिबार

सधैं मलको हाहाकार : ४५ अर्बको धान चामल आयात


धान चामल आयात

काठमाडौं । हरेक १५ असारमा मनाइने राष्ट्रिय धान दिवस बुधबार पनि विगतका वर्षझैं देशका विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइयो । तर, कृषिप्रधान मुलुकमा सधैं मलको हाहाकार हुँदा वास्तविक किसानले भने अझै पनि आफ्नो खेतमा रोपाइँ सम्पन्न गर्न सकेका छैनन् ।

सरकारले २०६१ देखि हरेक वर्ष १५ असारको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । धान दिवस मनाउने सरकारले किसानलाई समयमा नै मलको जोहो गर्न नसक्दा भने किसानले मानो रोपेर मुरी फलाउने अवसर पाएका छैनन् ।

यो दिनमा सरकारका उच्च पदाधिकारीदेखि, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू र सम्बन्धित सरोकारवालाले देशभर आ–आफ्ना ठाउँमा हिलो खेल्दै धान रोपाइँ गरी हिलोमा रमाएको फोटोले सामाजिक सञ्जाल पूरै रंगिए पनि धुमधामका साथ मनाइएको धान दिवस उपलब्धिमूलक देखिएको छैन ।

यदि यो दिवस नारामै सीमित नभएको भए कृषिप्रधान देशमा दैनिक धान र चामलको आयातमा मात्रै अर्बांै रुपैयाँ बाहिर पठाउनुपर्दैनथ्यो । चालू आर्थिक वर्ष २०७८-७९ को बितेका ११ महिना गत जेठ मसान्तसम्मको अवधिसम्ममा मात्रै मुलुक ४५ अर्ब २९ करोड ७५ लाख २६ हजार रुपैयाँभन्दा धेरैको चामल र धान आयात गर्न बाध्य भयो ।

भन्सार विभागको तथ्यांक विवरणअनुसार नेपालले हाल दैनिक औसत करिब साढे १३ करोड रुपैयाँभन्दा बढीको धान र चामल आयात गरिरहेको छ । यस अवधिमा कुल ४५ अर्ब २९ करोड ७५ लाख २६ हजार रुपैयाँको धान–चामल र धानको बीउ आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार यस अवधिमा २८ अर्ब ५० करोड ५७ लाख ७७ हजार रुपैयाँको चामल आयात भएको छ । यसैगरी, चालू आवको बितेका ११ महिनामा १६ अर्ब ७९ करोड १७ लाख ४९ हजार रुपैयाँको धान र धानको बीउ आयात भएको छ ।

गत आर्थिक वर्ष २०७७-७८ को सोही अवधिमा कुल ४६ अर्ब २ करोड ५८ लाख ४५ हजार रुपैयाँको धान चामल विभिन्न देशबाट नेपाल भित्रिएको थियो । यसैगरी, आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा जम्मा ३० अर्ब ८२ करोड ५८ लाख ७७ हजार रुपैयाँको धान चामल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यो विवरणले पनि राष्ट्रिय धान दिवसको तामझाम र कृषिप्रधान देशको नारा त्यसै नारामै सीमित भएको देखिएको छ । यस्तो हुनुमा विशेषगरी सरकारकै कमजोर कार्यशैली भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले अहिलेसम्म यसरी धान र चामलको आयात बढिरहेको देख्दा यस्ता गतिविधि केबल नारामै सीमित भएको आरोप लगाएका छन् ।

धान दिवसको दिन मात्र आफ्नो फेसबुक पेज र अन्य सामाजिक सञ्जाल र मिडियामा छाउन धान रोपेको देखाउने नक्कली किसानले गरेको यस्ता गतिविधि र सरकारी गतिलो नीति नभएकाले धान र चामलको आयात दैनिक बढिरहेको सम्बन्धित सरोकारवालाको दाबी छ । उनीहरूले सरकारले यस आर्थिक वर्षमा रासायनिक मल खरिदमा ३० अर्ब रुपैयाँ विनियोजन गरे पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन नसकेकोमा निकै दुःख लागेको बताएका छन् ।

हाल हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा अहिले धान होइन, कंक्रिटका घर बढ्दै गएका छन् । खेती गर्नेको आत्मसम्मानसमेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन बिदेसिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ ।

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशतबराबर रहेको विवरण केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ ।

यस्तो छ धान चामल आयातको अवस्था
आर्थिक वर्ष २०७८/७९ जेठ मसान्तसम्मः ४५ अर्ब २९ करोड ७५ लाख २६ हजार रुपैयाँ
आर्थिक वर्ष २०७७/७८ जेठ मसान्तसम्मः ४६ अर्ब २ करोड ५८ लाख ४५ हजार रुपैयाँ
आर्थिक वर्ष २०७६/७७ जेठ मसान्तसम्मः ३० अर्ब ८२ करोड ५८ लाख ७७ हजार रुपैयाँ

यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !