२४ बैशाख २०८१, सोमबार

मौन अवधि आज राति १२ बजेबाट : मत माग्न नपाइने, प्रचार-प्रसारमा पनि रोक


स्थानीय निर्वाचन

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भन्दै मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार राति १२ बजेबाट स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुने र सो अवधिमा राजनीतिक दल तथा दलका उम्मेदवारलाई आयोगले तोकेअनुसारको दायरामा रहेर गतिविधि गर्न आग्रह गरेका हुन् ।

राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले मौन अवधिको पालना गर्नुपर्ने आयोगले भनेको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तत्र्रिmया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगले भनेको छ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । यस्तै यो अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन ।

यस्तै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट सेयर गर्न वा गराउन पाइनेछैन ।

आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न पनि सबैमा आग्रह गरेको छ ।

यस्तै, आयोगले आजै राति १२ बजेबाट मतदान कार्य सम्पन्न नभएसम्म मादकपदार्थको बिक्रीवितरण र सेवन गर्न पनि प्रतिबन्ध लगाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादकपदार्थ बिक्रीवितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले भनेका हुन् ।

मौन अवधिमा कसैले पनि उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, मास्क, ब्याचजस्ता सांकेतिक सामग्री प्रयोग गर्न, बिक्रीवितरण गर्न, प्रदर्शन गर्न–गराउन पाइनेछैन । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !