११ जेष्ठ २०८१, शुक्रबार

देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल


नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसकै एक समूहले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक बन्न पुगेको छ ।

जिल्लाका सातवटै स्थानीय तहमा एमालेसँग चुनावी तालमेल गरेर अघि बढेको नेपाली कांग्रेस डडेल्धुराका असन्तुष्ट नेता कार्यकर्ताहरूको नेतृत्व नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्लले गर्नुभएको छ । पछिल्लो एक दशक नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरेका मल्ल डडेल्धुराको जिल्ला राजनीतिमा प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ ।

२०४७ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय मल्ललाई हाल नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । १६ वर्ष पहिले तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएका नेता मल्ललाई प्रधानमन्त्री देउवाले दोस्रोपटक कारबाही गर्दा स्पष्टीकरणको मौकासमेत दिइएको छैन ।

बिहेवारी सम्बन्धका कारण नजिकैको दाजु नाता पर्ने प्रधानमन्त्री देउवाबाटै प्रभावित भएर कांग्रेसको राजनीतिमा सक्रिय भएका मल्लले २०४७ सालमा पहिलोपटक देउवासँग भेटघाट गर्ने अवसर पाउनुभएको थियो । त्यतिबेला देउवा गृहजिल्ला डडेल्धुरामा संगठन बिस्तार गर्न सक्रिय हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघ डडेल्धुरा जिल्ला कार्यसमितिको उपाध्यक्ष रहेका मल्लले जनता मावि सकायलको प्राङ्गणमा कांग्रेसले आयोजना गरेको आमसभामा पहिलोपटक देउवासँग भेटघाट भएको बताउनुभयो ।

बाल्यकालमै बुबा गुमाएका मल्लले जेठो छोरो हुनुका कारण पारिवारिक जिम्मेवारी हुँदाहुँदै पनि देउवाकै सल्लाहमा नेपाली कांग्रेसको पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिने निर्णय गर्नुभयो । संगठन विस्तारका क्रममा सांस्कृतिक टोलीको नेतृत्व गरेर सुदूरपश्चिम प्रदेशका सबै जिल्लासम्म पुगेका मल्लले देउवाका चुनावी आमसभाहरूमा गीत गाएर मतदाता प्रभावित पार्ने गरेको नेपाली कांग्रेस डडेल्धुराका पाका नेता भरत नेपालीले बताउनुभयो ।

२०५३ सालमा नेपाली कांग्रेस डडेल्धुराबाट पार्टीको नवौं महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिमा छनोट भएका मल्लले २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा डडेल्धुरा जिल्ला विकास समितिको उपसभापति पदमा प्रतिस्पर्धा गर्नुभएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !