१९ बैशाख २०८१, बुधबार

अर्थमन्त्रीको रुचि र इन्टेन्सन अनुसार नचलेपछि निलम्बनमा परे गभर्नर


जनार्दन शर्मा र महाप्रसाद अधिकारी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको रुचि र इन्टेन्सनअनुसार नचलेपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बिनाकुनै प्रक्रिया निलम्बन गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मु्लक आर्थिक संकटमा गइरहेको अवस्थामा गर्भनरमाथि भएको यस्तो आक्रमणले झनै आर्थिक संकट बढ्न सक्ने भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयबाट निलम्बनको बेहोरा मिलाइएको बताइए पनि यससम्बन्धी निर्णय ‘ब्याक डेट’मा गरिएको छ । यससम्बन्धी निर्णय शुक्रबार गरिए पनि बिहीबार भनेर फर्जी निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याल स्रोतले जनाएको छ ।

बिहीबारको मन्त्रिपरिषद्को निर्णय भन्दै शुक्रबार सञ्चारमन्त्रीले सार्वजनिक गरेको निर्णयमा गर्भनर निलम्बनसम्बन्धी कुनै निर्णय समेटिएको थिएन । तर, शुक्रबार साँझ अबेर मात्रै बिहीबारकै मन्त्रिपरिषद्ले गर्भनरलाई निलम्बन गरिएको भन्दै सूचना सम्प्रेषण गरिएको थियो ।

सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्माको अधिकारीसँग सम्बन्ध राम्रो बन्न सकेको थिएन । अर्थमन्त्री शर्माका कतिपय गलत कदमको अधिकारीले विरोधसमेत गर्दै आएका थिए ।

सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेर उल्टो बाटो तय गरेको टिप्पणी अर्थ मन्त्रालयकै उच्च अधिकारीले गरेका छन् । गभर्नर अधिकरीले पटकपटक अर्थ मन्त्रालयलाई सम्भावित संकट जानकारी दिँदै सुधारका उपायसमेत सुझाइरहेका थिए ।

प्रधानमन्त्रीमाथि अर्थमन्त्री फेर्न दबाब परिरहेका बेला गभर्नरलाई निलम्बन गरेर विषयान्तर गर्न खोजिएको बताइएको छ । निर्वाचन आयोगले आचारसंहिता लागू भएको जानकारी गराएलगत्तै गर्भनरलाई निलम्बन गरिएको हो । चुनावको मुखमा सरकारले एकपछि अर्को विवादस्पद निर्णय गरेको भन्दै गठबन्धनमै असन्तुष्टि बढ्न थालेको छ । यो समाचार आजको राजधनी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !