१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसमा तालमेल किचलो, देउवा–शेखर मञ्चमै जुहारी


शेरबहादुर देउवा र डा. शेखर कोइराला

काठमाडौं । आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाने कि एक्लै निर्वाचनमा होमिने भन्ने विषय नेपाली कांग्रेसभित्र पेचिलो बन्दै गएको छ ।

कांग्रेसको संस्थापन पक्ष स्थानीय, प्रदेश र केन्द्रीय तह र सत्ता गठबन्धन दल चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर कसैसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा होमिनुपर्ने पक्षमा छ । यो विषयमा कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पनि पक्ष–विपक्षमा बहस जारी छ ।

केन्द्रीय समितिमा नै तालमेलका विषयमा बहस जारी रहँदा शनिबार एकै मञ्चमा सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच घोचपेच भएको हो । राजधानीमा बीपी स्मृति सामुदायिक अस्पतालको १४औं वार्षिक साधारणसभालाई शनिबार दुवै नेताले सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाभन्दा अघि बोलेका कोइरालाले पार्टीभित्रका गुट उपगुटलाई मिलाएर चुनावमा अघि बढ्दा निर्वाचन परिणाम सजिलै पार्टीको पक्षमा रहने अवस्था भएकाले कसैसँग तालमेल गर्नु आवश्यक नभएको भन्दै पार्टीलाई एक ढिक्का बनाउनेतर्फ ध्यान दिन सभापतिलाई व्यंग्य गरे ।

‘सबैभन्दा पहिला पार्टीलाई आन्तरिक रूपमा मजबुत र एकजुट बनाउनुपर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ, यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न’, कोइरालाले भने ।

सोही क्रममा कोइलालाले गठबन्धन तालमेलबाटै अघि बढ्ने हो भने नेपाली कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुने भन्दै सभापतिलाई त्यतातर्फ पनि सोच्न भन्दै चेतावनी दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेक छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !