२२ बैशाख २०८१, शनिबार

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब


सार्वजनिक सवारी

काठमाडौं । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयाोजन गर्न सरकारलाई दबाब दिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । उनले सरकारले भाडा नबढाएमा आफैं भाडा बढाएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

व्यवसायीले इन्धनमा भएको मूल्यवृद्धिले व्यवसाय टिकाउन समेत गाह्रो भएको जनाउँदै मूल्य वृद्धिअनुसार सार्वजनिक सवारीको भाडा बढाउन पाउनुपर्ने जनाएका छन् । व्यवसायीले कोरोनाले लामो समय मारमा परेर बिस्तारै उठ्न लाग्न फेरि बढ्दो इन्धनको मूल्यले बैंकको किस्ता बुझाउन कठिन भएको बताएका छन् ।

व्यवसायीले भाडा वृद्धि गर्न माग गर्दै आए पनि सरकारले भने भाडा वृद्धि गरेको धेरै नभएको भन्दै अहिले नै हतार गर्न नहुने जनाएको छ । सरकार अहिले नै भाडा वृद्धि गर्ने पक्षमा नदेखिएपछि व्यवसायीले भने आन्दोलनको चेतावनी दिएका छन् । व्यवसायीले सरकारलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको जनाउँदै माग सम्बोधन नभए आन्दोलनमा उत्रने जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !