२० बैशाख २०८१, बिहिबार

माओवादीको कार्यक्रममा काँग्रेसका कार्यकर्ता प्रवेश गरेपछि…


काठमाडौं । सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो ।

कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो ।

उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल साल्ट ड्रेडिङ (बग्गीखाना) परिसरमा पनि निकै ठूलो घुइँचो थियो ।

धिमे र पञ्चेबाजासहित प्रकाशमानको पक्षमा समर्थकहरू नारा लगाइरहेका थिए । श्रेष्ठका समर्थकले बग्गीखाना भरिभराउ थियो ।

पौडेल समूह छोडेर श्रेष्ठको प्यानलबाट उपसभापति घोषणा गरेका सुजता कोइराला र पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै महामन्त्रीमा उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजन केसीसहितका नेताहरू एकसाथ देखिएपछि माहोल झन् फरक बनेको थियो ।

प्रकाशमानको पक्षमा नारा लागिरहँदा बग्गीखाना परिसरमा कांग्रेसको झण्डासँगै नेकपा माओवादी केन्द्रको झण्डा पनि बीच–बीचमा देखिएको थियो ।

बग्गीखाना परिसरभित्रै रहेको यलाम्बर पार्टी प्यालेसमा माओवादी केन्द्रको प्रदेश कमिटिको सम्मेलन आयोजना गरिएकाले त्यहाँ माओवादीको पनि झण्डा देखिएको थियो ।

कांग्रेसका कार्यकर्ताहरू झण्डा बोकेर पार्टी प्यालेसभित्र प्रवेश गरेपछि माओवादीका नेता कार्यकर्ताहरू मुखामुख गरिरहेका र माओवादीको झण्डा देखेर कांग्रेसका कार्यकर्ता बाहिर निस्कँदै गरेको दृश्य रोचक देखिन्थ्यो । कार्यक्रममा सहभागी हुन आएका माओवादीका प्रदेश कमिटिका नेताहरू बाहिर कांग्रेसको झण्डा र ब्यानर देखेर अलमलमा परेका थिए ।

बाहिर सभापतिका उम्मेदवार प्रकाशमान सिंहले भाषण गरिरहँदा सोही परिसरभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यबाट सम्बोधन गरिरहनुभएको थियो ।

कार्यक्रमस्थलमा सहभागी कांग्रेस र माओवादीका कार्यकर्ताहरू भने माओवादी र सिंहको भाषण चाखपूर्ण रूपमा सुनिरहेका थिए ।  यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !